Saturday, January 23, 2021

सरकारले कानून नबनाउँदा प्रदेशको काम प्रभावित भयो : मुख्यमन्त्री भट्ट

प्रकाशित मिति: 2020/02/19

७ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सङ्घीय सरकारले आवश्यक कानून निर्माण नगरिदिँदा प्रदेश सरकारको काम प्रभावित भएको बताएका छन् । प्रदेश सरकारको दुई वर्षको उपलब्धिबारे प्रदेशसभालाई जानकारी गराउँदै मुख्यमन्त्री भट्टले कानून निर्माणमा भइरहेको ढिलाइले समस्या भएको बताए । ‘साझा कानून तयार गर्न सङ्घीय सरकारले ढिलाइ गर्दा हामीलाई समस्या परेको हो,’ उनले भने, ‘प्रदेश प्रहरी गठन हुन सकेको छैन । लोक सेवा विधेयक पारित भइसकेको छ, तर आफ्नै कर्मचारी भर्ना गर्न सकिएको छैन ।’ उनले बजेट खर्च कमजोर भएको स्वीकार गरे । तर यसको कारण कर्मचारी अभाव भएको बताए । चालु आर्थिक वर्षको छ महिनामा १०.१८ प्रतिशत बजेट खर्च भएको छ । ‘तीव्र गतिमा जान नसक्नुको कारण कर्मचारी अभाव नै हो,’ उनले भने, ‘अहिले पनि ५० प्रतिशत जनशक्ति छैन । धेरै काम गर्न चाहदा पनि भएन । कर्मचारीकै अभाव हुँदा बजेट खर्च गर्न सकिरहेका छैनौं ।’ कर्मचारी र संरचनाको अभावका बाबजुद प्रदेश सरकारले थुप्रै राम्रो काम गरेको उनको दाबी छ । बजेट खर्च पनि अघिल्लो वर्षहरुको तुलनामा बढेको बताए ।

प्रदेश सरकारले पहिलो वर्षमै राजधानी र नाम तोकेको तर सङ्घीय सरकारका कारण राजधानीबारे निर्णय कार्यान्वयनमा ढिलाइ भइरहेको मख्यमन्त्री भट्टले बताए ।  

तपाईंको बिचार