Saturday, January 16, 2021

पहिलो विशेष आर्थिक क्षेत्रमा समस्यै समस्या

प्रकाशित मिति: 2020/02/25

१३ फागुन, बुटवल । सरकारले ‘पाइलट प्रोजेक्ट’का रुपमा रुपन्देहीको भैरहवामा स्थापना गरेको विशेष आर्थिक क्षेत्र (सेज)ले आवश्यक पूर्वाधार र कर्मचारी अभावका कारण गति लिन सकेको छैन । स्थापनाको १६ वर्षसम्म पनि मुलुककै पहिलो पाइलट प्रोजेक्टमा विद्युत प्रशारण लाइन नबन्दा र माग अनुसारको विद्युत आपूर्ति नहुँदा उद्योग स्थापना गरेका उद्योगीहरु समस्यामा परेका छन् । निर्यात प्रवर्द्धन र उद्योगीलाई सहुलियत दिने मुख्य उद्देश्यले विशेष आर्थिक क्षेत्र स्थापना थालिएको हो । विद्युत अभावकै कारण दर्ता भएका उद्योगीले समेत उद्योग स्थापनामा ढिलाइ भएको छ । अर्कोतर्फ सरकारले १५ करोड रुपैयाँ लगानी गरेको सेजमा झण्डै पाँच महिनादेखि कार्यकारी निर्देशक विहीन छ । कार्यकारी निर्देशक नहुँदा दैनिक कामसेत प्रभावित भएका छन् । सेज सञ्चालन विनियमावलीसमेत बनेको छैन । नियमावली नबनेको कारण कर्मचारी भर्ना गर्न समस्या भएको सेज प्राधिकरणले जनाएको छ ।

५८ जना कर्मचारीको दरबन्दी रहेकामा नौ जना मात्रै कार्यरत छन् । ती कर्मचारी पनि सेजमा भेट्न मुस्किल हुने गरेको उद्योगीको गुनासो छ । सेजमा ११ केभीएको लाइनबाट पाँच मेगावट विद्युत् आपूर्ति भइरहेको छ । पर्याप्त विद्युत् पाउन नसक्दा उत्पादनमा समस्या भएको सेजमा उद्योग सञ्चालन गर्नुभएका पञ्चकन्या उद्योगका महाप्रबन्धक देबेन्द्र साहूले बताए । सेजमा ३३ केभिएको विद्युत् प्रसारण लाइन आवश्यक पर्ने भए पनि ११ केभीएको लाइनबाट आपूर्ति हुँदा माग अनुसार पर्याप्त मात्रा र गुणस्तरीय विद्युत नपाएको साहूले बताए । बुटवलको नहरपुर क्षेत्रका स्थानीय बासिन्दाले रुट परिवर्तन गर्न माग गर्दै विरोध जनाएका र प्रसारण लाइन निर्माणको क्रममा वन र सडक विभागबाट समेत आवश्यक सहयाग र समन्वय नहुँदा काममा अवरोध भएको हो ।

तपाईंको बिचार