Friday, May 29, 2020

माथिल्लो तामाकोशी निर्माणमा ढिलासुस्ती, कुलमान पुगे निरीक्षणमा

प्रकाशित मिति: 2020/02/27

१५ फागुन, काठमाडौं । कार्यतालिकाअनुसार काम नभएपछि नेपाल विद्युत प्राधिकरण्का कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा स्थलगत अनुगमन गरेका छन् । उनले आयोजनामा सन्तोषजनक प्रगति नभएको भन्दै गति बढाउन र तोकिएको सयमै काम सक्ने वातावरण तयार गर्न निर्देशन दिएका छन् । स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ठाडो सुरुङमा ३५५ मिटर पेनस्टक पाइप जडान गरिएको छ ।

पाइप जडानका लागि सबैभन्दा जटिल मानिएको तल्लो ठाडो सुरुङमा २२० मिटर र माथिल्लो ठाडो सुरुङमा १३५ मिटर पेनस्टक पाइप जडान गरिएको हो । अब तल्लो र माथिल्लो ठाडो सुरुङमा क्रमश ः १४७ र १७१ मिटर पाइप जडान गर्न बाँकी छ । माथिल्लो र तल्लो ठाडो सुरुङमा १० मिटरका दुई वटा पाइप जडान गर्न क्रमशः ७ र ५ दिनमा आइसकेकोले कुनै प्राविधिक समस्या नआएमा वैशाख भित्रमा पाइप जडान भइसक्ने आयोजनाले बताएको छ । त्यसपछि माथिल्लो र तल्लो ठाडो सुरुङको बीचमा रहेको तेर्सो भागमा पाइप जडान सुरु हुने र त्यसका लागि करिब साढे एक महिना लाग्ने बताइएको छ ।

माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष समेत रहेका घिसिङले निर्माणस्थलको निरीक्षण गरी आयोजनाका पदाधिकारी, परामर्शदाता, तीन वटै ठेकेदारहरुसँग संयुक्त रुपमा निर्माण सम्पन्न हुने कार्यतालिका बारेमा छलफल गरेका थिए । ठेकेदार कम्पनीहरुले आफ्नो तालिकाअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

तपाईंको बिचार