Tuesday, January 19, 2021

इटलीमा मुलुकभर आपतकालको घोषणा

प्रकाशित मिति: 2020/03/10

२७ फागुन, काठमाडौं । कोरोना भाइरस नियन्त्रणको लागि इटलीले मुलुकभर आपतकालको घोषणा गरेको छ । भाइरसको प्रकोप बढेसँगै यसअघि केही क्षेत्रमा लागू गरिएको आपतकालीन अवस्थालाई मुलुकभर विस्तार गरिएको हो । अहिले घोषणा गरिए अनुसारको आपतकालीन अवस्थामा भ्रमण, तथा सार्वजनिक भेलामा समेत मुलुकभर प्रतिबन्ध लगाइएको छ । सोमबार प्रधानमन्त्री ग्युसेपे कोन्टेले मानिसहरुलाई घरमै बस्न र अनुमति लिएर मात्र कुनै महत्वपूर्ण यात्रामा जान आग्रह गरेका छन् । सोमबार मात्र इटलीमा कोरोना भाइरसबाट ९७ जनाको ज्यान गएको थियो । आइतबार यता नयाँ संक्रमितको संख्या पनि २४ प्रतिशत बढेको छ । चीनपछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुक इटली हो । इटलीको सबै २० प्रान्तमा यो भाइरसको संक्रमण देखिएको छ । सरकारले राति अबेरसम्म नबस्न र रातको समयमा पार्टी नगर्न निर्देशन दिएको छ । मुलुकभर सबै फुटबल खेलमा रोक लगाइएको छ । विद्यालय र विश्वविद्यालययहरु अप्रिल ३ सम्मका लागि बन्द गरिएको छ । कुनै महत्वपूर्ण काम तथा परिवारिक कामबाहेक भ्रमणमा प्रतिबन्ध लगाइएको छ । सरकारको निर्णयविरुद्ध इटलीका विभिन्न जेलमा हिंसा भड्किएको छ । यस क्रममा केही मानिसहरुको ज्यान पनि गएको छ भने केही कैदीहरु जेलबाट भागेका छन् ।

तपाईंको बिचार