Thursday, January 28, 2021

टुटल र पठाओ रोक्ने गरी सरकारले फेरि निकाल्यो सूचना

प्रकाशित मिति: 2020/03/11

२८ फागुन, काठमाडौं । सरकारले विभिन्न प्रयोजनमा दर्ता भएका सवारीलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न चेतावनी दिएको छ । यातायात व्यवस्था विभागले मंगलबार राती सूचना जारी गर्दै कानूनको उल्लंघन गरी अरू प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने जानकारी दिएको छ । ट्याक्सी व्यवसायी तथा चालकले टुटल र पठाओलाई कानून विपरित सेवा प्रदान गर्न छुट दिइएको भन्दै बुधबार विभाग घेराउ गरेका थिए । ट्याक्सी सञ्चालकहरुको दबावमा विभागले मंगलबार राती नै सूचना जारी गरेको हो ।

टुटल र पठाओ नामा उल्लेख नगरी जारी भएको सूचना कार्यान्वयन गरिएमा निजी सवारीलाई पनि भाडा लिएर यात्रु बोकिरहेका टुटल, पठाओलगायतका मोटरसाइकलमा यात्रु बोक्ने सेवा प्रभावित हुनेछन् । विभागले कानून मिचेर सञ्चालनमा रहेका सवारीमाथि तत्कालै कारबाही थालिने स्पष्ट गरेको छ । २०७५ माघमा विभागले यस्तै कारवाही थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै कारबाही रोक्न र निजी सवारीलाई भाडामा यात्रु बोक्न दिन निर्देशन दिएका थिए । त्यसपछि भएको साम्य भएको विषय गत मंसिरमा फेरि उठ्यो ।

विभागले मंसिरको ४ गते सूचना निकालेर टुटल र पठाओमा नमा उल्लेख नगरी सेवा बन्द गर्न भनेको थियो । त्यसपछि ट्राफिक प्रहरीले सडकमा टुल तथा पठाओका चालकलाई कारवाही थालेको थियो । विवाद चर्किएपछि यातायात मन्त्री बसन्त नेम्वाङले टुटल पठाओलाई नरोक्न निर्देशन दिएका थिए ।

फेरि बुधबार विभागले सार्वजनिक सूचना जारी गर्दै विभिन्न प्रयोजनमा दर्ता भएका सवारीले भाडा लिएर यात्रु ओसारेको गुनासो आइरहेको भन्दै तुरुन्त त्यस्तो काम बन्द गर्न भनेको छ ।
 

तपाईंको बिचार