Friday, January 22, 2021

कोरोना उपचारको तालिम दिँदै नेपाली सेना

प्रकाशित मिति: 2020/03/15

२ चैत, काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचारको तयारी र विधिबारे नेपाली सेनाले आफ्ना स्वास्थ्यकर्मीहरुलाई तालिम दिने भएको छ । तालिम सञ्चालनका लागि भद्रकालीस्थित चौरमा सेनाले ४८ वटा टेन्टभित्र नमूना क्वारेन्टाइनस्थल बनाएको छ । सोमबारबाट सुरु हुने तालिममा नेपाली सेनाका करिब ५० जना स्वास्थ्यकर्मी सहभागी हुने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार तालिम सन्चालनका लागि भद्रकालीमा हाल ५४ वटा टेन्ट राखिएका छन् । प्रत्येक टेन्टभित्र दुई जनालाई उपचारका लागि राखिन्छ । दुई जना बिरामीलाई अलग(अलग दुईवटा शौचालय र पानीको व्यवस्था गरिएको छ ।

नेपाली सेनाले कोरोना संक्रमितहरुको उपचारका लागि हाल वीरेन्द्र सैनिक अस्पताल छाउनीमा १० शय्याको आइसोलसन कक्ष निर्माण गरेको छ । साथै इटहरी, पोखरा र नेपालगञ्जका क्षेत्रीय अस्पताललाई पनि आइसोलेसन कक्ष निर्माण गर्न निर्देशन दिइएको सेनाका प्रवक्ता पाण्डेले जानकारी दिए । क्वारेन्टाइनमा कोरोना भाइरसक संक्रमणको जस्तै लक्षण देखिएका बिरामीहरुलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखिन्छ । यदि कोरोना संक्रमण पुष्टि भएमा आइसोलेसन कक्षमा राखेर थप उपचार गरीन्छ ।

सरकारले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सरकारी अस्पतालहरुलाई क्वारेन्टाइन तथा आइसोलेसन कक्ष बनाउन निर्देशन दिएको छ । निजी अस्पतालहरुलाई पनि क्वारेन्टाइन र आइसोलसन कक्ष निर्माण गर्न सरकारले आह्वान गरेको छ ।

 

तपाईंको बिचार