Monday, January 18, 2021

६ महिनाको ब्याज छुट गर्न उद्योगीको माग

प्रकाशित मिति: 2020/03/19

६ चैत, बुटवल । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणले नेपालको उद्योग, व्यवसाय र पर्यटन क्षेत्रमा गम्भीर असर पारेको भन्दै उद्योगी व्यवसायीले ६ महिनाको बैंक ब्याज छुट दिन माग गरेका छन् । उद्योग व्यापार संगठन रुपन्देहीले नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखामा ज्ञापनपत्र बुझाउँदै सबैजसो उद्योगी व्यवसायीले बैंकबाट कर्जा लिएर उद्योग व्यवसायमा लगानी गरेकोले निजी क्षेत्रलाई राहत पुग्ने गरी ब्याज छुटसहित कर चुक्ताको म्याद पनि ६ महिनापछि सार्न माग गरेको हो ।

स्थानीय उद्योगी व्यवसायीहरु आर्थिक मन्दीको मारमा पर्न थालेको र बैंकको व्याज बुझाउने अवस्थासमेत नरहेकाले राहतका कार्यक्रम घोषणा गर्न माग गरिएको संगठनका अध्यक्ष नारायणप्रसाद भण्डारीले बताए । कोरोनाको असरका कारण आर्थिक मन्दीमा परेका विदेशी मुलुकहरुमा उद्योगी व्यवसायीलाई बचाउन केन्द्रीय बैंकहरुले राहतका प्याकेज ल्याइरहेको सन्दर्भमा नेपालमा पनि राष्ट्र बैंकले राहत कार्यक्रम ल्याउनुपर्ने अध्यक्ष भण्डारीको माग छ ।
संगठनले उद्योगी व्यवसायीहरुले लिएको ऋणको व्याज ज्यादै महंगो भएकोले घटाउन समेत माग गरेको छ । संगठनले ६ महिनाको व्याजदर छुट गर्न बैंकहरुलाई निर्देशन दिनुपर्ने, २०७६ साल चैत्र मसान्त र २०७७ साल असारमसान्तको अग्रिम करको किस्ता र बैंकहरुलाई बुझाउनुपर्ने व्याज २०७७ साल असोज मसान्तसम्म समय थप गर्न पनि माग गरेको छ । समय थप गर्दा जरिवाना नलगाउन पनि संगठनले माग गरेको छ । 

तपाईंको बिचार