Tuesday, May 26, 2020

लकडाउनले अप्ठेरोमा परेका नुवाकोटवासीलाई जिपी कोइराला फाउन्डेसनले निःशूल्क जिल्ला पठायो

प्रकाशित मिति: 2020/04/27
काठमाडौं, १५ बैशाख । लकडाउनका कारण अप्ठेरोमा परेका नुवाकोटवासीलाई जिपी कोइराला फाउन्डेसनले निस्शुल्क जिल्ला पठाएको छ । पाँच सातादेखिको लकडाउनका कारण राजधानीमा अड्किएका र दैनिक जीविकोपार्जनमा समस्या खेपिरहेका नुवाकोटवासीलाई घर फर्कन सघाउने उद्देश्यले गिरिजाप्रसाद कोइराला फाउन्डेसन नुवाकोटले काठमाडौंदेखि नुवाकोटका विभिन्न स्थानसम्म निस्शुल्क यातायातको व्यवस्था गरेको हो ।
 
 
नेपाली कांग्रेसका युवानेता तथा महासमिति सदस्य रमेशकुमार महतको क्रियाशीलता र जिल्लाका स्थानीय तहहरूसँगको समन्वयमा फाउन्डेसनले सञ्चालन गरेको निस्शुल्क यातायात सेवाअन्तर्गत आज काठमाडौंका बौद्ध, महाराजगन्ज, सामाखुसी, माछापोखरी, नयाँबजार, कलंकी लगायत स्थानबाट झन्डै एक दर्जन बस नुवाकोट पठाइएका छन् ।
 
 
लकडाउनसँगै लामो समय व्यापार, व्यवसाय र रोजगारी बन्द हुँदा काठमाडौंमा अस्थायी बसोवास गरिरहेका हजारौं नुवाकोटवासीको समस्या दिनानुदिन जटिल बन्दै गएको अवस्थालाई मध्यनजर गरी घर फर्किन चाहनेका लागि निस्शुल्क यातायातको व्यवस्था गरिएको कांग्रेस युवानेता रमेशकुमार महतले बताए । जनताप्रतिको उत्तरदायित्व वहन गर्ने सन्दर्भमा विगतदेखि नै आफू निरन्तर लागिपरेको स्मरण गर्दै नेता महतले जस्तोसुकै परिस्थितिमा पनि आफ्नो दायित्व पालनामा नचुक्ने प्रतिबद्धता व्यक्त गरे ।
 
 
फाउन्डेसनका जिल्ला अध्यक्ष रमेशकुमार पाठकले यो विषम परिस्थितिमा जनतालाई राहत दिने कार्यमा राज्यले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको अवस्थामा आफूहरू जिल्लावासीको पीडामा मल्हम लगाउने प्रयासमा जुटेको बताए । मानवसेवाको कार्यमा आफू र संस्था निरन्तर लागिपर्ने उनको संकल्प छ । हामीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष पाठकले फाउन्डेसनको अभियानमा नैतिक वा भौतिक साथरसमर्थन दिने सम्पूर्णमा आभार प्रकट गरे ।
 
 
फाउन्डेसनका जिल्ला उपाध्यक्ष शिव अधिकारी अविरलले गिरिजाप्रसाद कोइराला फाउन्डेसनले सबै जिल्ला र स्थानीय तहसम्म फैलिएका समितिहरूमार्फत देशैभर मानवसेवाको अभियान चलाइरहेको भन्दै कठिन घडीमा फाउन्डेसनको क्रियाशीलता अझै बढी रहने बताए । जिल्लावासीको जुनसुकै समस्यामा साथ९सहयोग पुर्याउन आफूहरू अहोरात्र खटिइरहेको स्मरण गर्दै अधिकारीले भविष्यमा पनि नुवाकोटको सेवामा उत्तिकै तदारुकताका साथ लागिरहने अठोट गरे ।

तपाईंको बिचार