Sunday, January 17, 2021

बद्मास ठेकेदारले काम नगर्दा सरकार आलोचित भयो : बसन्त नेम्वाङ, मन्त्री भौतिक पूर्वाधार

प्रकाशित मिति: 2020/09/27

असोज ११, काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले विभिन्न निकायबाट हुने कमजोरीमा समेत सरकारलाई दोषी देखाउने कार्य भइरहेको बताएका छन् । सरकार प्रत्यक्षरूपमा नजोडिएका क्षेत्रमा समेत सरकारलाई नै जिम्मेवार देखाई बद्नाम गर्न खोज्ने काम भइरहेको मन्त्री नेम्वाङको भनाइ छ । 

जिल्ला समन्वय समिति पाँचथरले शनिबार फिदिममा आयोजना गरेको कार्यक्रममा उनले भने, “एउटा बदमास ठेकेदारले बाटो बनाउँदैन तर दोषचाहिँ प्रधानमन्त्रीको टाउकोमा लगाउने ?” कयौँ विकास आयोजनामा ठेकेदारले समयमा काम नगर्दा सरकार आलोचित हुनुपरेको भन्दै मन्त्री नेम्वाङले अब सरकारले कसैलाई पनि छुट दिन नसक्ने बताए । 
समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीमाथि कारवाही हुन थालेको बताउँदै मन्त्री नेम्वाङले अब पनि छुट पाइन्छ भन्ने कल्पना पनि नगर्न आग्रह गरे । यस्तै जिम्मेवारी पूरा नगर्ने तालुकदार निकायसमेत कारवाहीको भागीदार बन्नुपर्ने उल्लेख गर्दै मन्त्री नेम्वाङले कोभिड–१९ को महामारीका बीच पनि निरन्तर कार्यक्षेत्रमा सक्रिय सरकारी तथा गैरसरकारी निकायलाई धन्यवाद ज्ञापन गरे ।
प्रधानमन्त्री र सरकारको सोचअनुसार पूर्व–पश्चिम रेल सञ्चालन गरेरै छोड्ने मन्त्री नेम्वाङको दृढता छ । यसका लागि रेलमार्ग डिपिआर (विस्तृत आयोजना प्रतिवेदन) को काम भइरहेको उनले जानकारी दिए । 

तपाईंको बिचार