Sunday, January 17, 2021

दशैंलक्षित सहुलियत पसल सञ्चालनको तयारी

प्रकाशित मिति: 2020/09/28

काठमाडौं । निजी क्षेत्रलाई समेत समेटेर सरकारले यस वर्षको दशैंलक्षित सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याउने तयारी गरेको छ ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको संयुक्त सञ्चालनमा उपत्यका भित्र १० वटासहित थप सहुलियत पसल सञ्चालनको प्रारम्भिक समझदारी बनेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

यस्तै खाद्य र साल्ट ट्रेडिङको सबै आउटलेटमा पनि सहुलियत सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ । सहुलियत पसल सञ्चालको निर्णय र मोडालिटी भने सोमबार तय हुने कम्पनीका प्रमुख कार्याकारी निर्देशक नेत्रप्रसाद सुवेदीले बताए ।
यसका साथै दुग्ध विकास संस्थाले पनि संयुक्तरुपमा सहुलियत पसल सञ्चालन गर्न समझदारी हुन सक्ने कम्पनीले जनाएको छ ।

सहुलियत पसलका अलवा खाद्य र साल्ट ट्रेडिङबाट यस वर्षको दशैंमा सहुलियत घुम्ती पसल सेवा पनि सञ्चालन गर्ने कम्पनीको भनाइ छ । त्यस्ता पसलमा नुन, चामल, चीनी, गेडागुडीदेखि खसी बोकासमेत छुट मूल्यमा पाइने छ ।

गतवर्ष दशैं चाडै भएका कारण भदौ २३ गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याइएको थियो । गत वर्ष उपत्याकामा तीन वटा घुम्ती पसलसहित साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थाले सञ्चालन गर्ने गरी देशभर ७३ वटा पसल सञ्चालनमा आएको थियो । दशैंअघि सञ्चालनमा आउने सहुलियत पसल छठपछि मात्रै बन्द हुने गरेको छ ।

तपाईंको बिचार