Sunday, January 24, 2021

कात्तिकदेखि दुइटा सहकारीमा सदस्य बन्न नपाइने

प्रकाशित मिति: 2020/09/29

असोज १३, काठमाण्डौ । आगामी कात्तिक १ गतेबाट एउटै प्रकृतिका दुइटा सहकारीमा सदस्य बन्न नपाइने भएको छ । सहकारी विभागले सहकारी ऐन, २०७४ मा भएको व्यवस्था अनुसार कात्तिक १ गतेदेखि दोहोरो सदस्यता अन्त्य गर्नुपर्ने भएको हो । सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा १ (क) मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य बन्न नपाउने व्यवस्था  छ । सो ऐन प्रारम्भ हुनुअघि एकभन्दा बढी संस्थाको सदस्य रहे तीन वर्षभित्र एक संस्थाको मात्रै सदस्यता कायम गर्न व्यवस्था गरिएको छ । सहकारी विभागले जारी गरेको सूचनामा सहकारी ऐन, २०७४ मिति २०७४ कात्तिक १ गतेदेखि जारी भएकाले यही असोज मसान्तमा तीन वर्ष पूरा हुने हुँदा पुराना सदस्यहरू पनि दोहोरो सदस्य बस्न नपाउने भएका हुन ।
विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले आफूले छनोट गरेको कुनै एक मात्रै सहकारी संस्थाको सदस्यता कायम राखी अन्य सहकारी संस्थाको सदस्यता अन्त्य गर्न सूचना जारी गरिएको जानकारी दिए ।   
विभागले सबै सहकारीलाई दोहोरो सदस्यता भए सम्बन्धित शेयर सदस्यलाई जानकारी गराएर एउटा सहकारी चयन गर्न आवश्यक प्रक्रिया मिलाउन निर्देशनसमेत गरेको छ ।

पाण्डेले हाल देशभरका सहकारी सदस्यको विवरण सफ्टवेयरमार्फत् अद्यावधिक भइरहेको जानकारी दिए । 

तपाईंको बिचार