Friday, January 22, 2021

यात्रुको चाप बढेसँगै आन्तरीक हवाई उडानको कोटामा बृद्धि

प्रकाशित मिति: 2020/09/30

१४ असोज, काठमाडौं । सरकारले बिहीबारबाट लागू हुने गरी आन्तरिक हवाई उडानको कोटा वृद्धि गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि ५ असोजबाट उडान थाल्दा १४ असोजसम्मको उडान तालीका दिएको थियो । यसबीचमा हवाई यात्रुको बढ्दो चापका बीच प्राधिकरणले कम्पनीहरुलाई दैनिक दिएको उडानको कोटा बढाएको हो । प्राधिकरणका अनुसार अब बुद्ध एयरले दैनिक २५ वटा उडान गर्न पाउने छ । यसअघि दैनिक १८ वटा उडानको अनुमति बुद्ध एयरलाई दिइएको थियो । अब यति एयरलाइन्सले दैनिक १८ वटा उडान गर्न सक्ने भएको छ । यसअघि उसलाई ११ वटा उडानको अनुमति थियो ।

प्राधिकरण स्रोतका अनुसार श्री एयरले भने दैनिक १२ उडानको अनुमति पाएको छ । यसअघि श्रीको ६ उडानलाई मात्र अनुमति थियो ।

प्राधिकरणले सिम्रिक र सौर्यलाई २ र २ उडानको अनुमति दिएको छ । यसअघि यी दुई एयरलाइन्सलाई एक एक उडानको अनुमति दिइएको थियो ।

दुर्गम भेगमा काठमाडौंबाट उडान गर्ने समिट, तारा र सीता एयरले समेत अब दैनिक चार वटा उडान गर्न सक्ने भएका छन् । यसअघि यी कम्पनीले तीन तीन उडान गर्ने सक्ने गरी प्राधिकरणबाट तालीका प्राप्त गरेका थिए । प्राधिकरणका अनुसार यो तालिका अक्टोवर महिनाभर लागू हुनेछ । त्यसपछि परिस्थितिको अवस्था हेरी उडान थपघटको निर्णय हुन सक्ने भएको छ । कम्पनीहरुका अनुसार लकडाउन र निषेधाज्ञापछि खुलेको आन्तरिक उडानका यात्रुको आकर्षण देखिएको छ । अहिले हवाई उडानका ९० प्रतिशतभन्दा माथि सीट भरिएको छन् ।

तपाईंको बिचार