Thursday, January 28, 2021

कांग्रेस सांसद भन्छन,– ‘ह्वीप मानिन्न, दाङमै भोट हालिन्छ’

प्रकाशित मिति: 2020/10/06

२० असोज, काठमाडौं । प्रदेश ५ को स्थायी राजधानी दाङ बनाउने प्रस्तावको विपक्षमा मत हाल्न नेपाली कांग्रेसले ह्वीप जारी गरे पनि त्यसलाई नमान्ने सो पार्टीका एक सांसदले बताएका छन् । कांग्रेस सांसद डिल्ली चौधरीले आफूले ह्वीप नमान्ने र दाङ राजधानी बनाउने प्रस्तावको पक्षमै भोट हाल्ने बताएका हुन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)देखि बर्दियासम्मको भूगोललाई दाङ नै पायक पर्ने भन्दै उनले दाङ देउखुरीको भालुवाङ क्षेत्रलाई राजधानी बनाउने प्रस्ताव उपयुक्त रहेको बताए । प्रदेश ५ सरकारले राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव गरेको छ । सो प्रस्तावमाथि प्रदेशसभाको आज मध्याह्न बस्ने बैठकमा मतदान हुँदैछ । बैठक बस्नुअघि प्रमुख प्रतिपक्षी कांग्रेसले दाङको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

दाङ राजधानी तोक्न लागिएकोमा असन्तुष्ट केही कांग्रेसका सांसदहरुले हिजोको प्रदेशसभा बैठकमा कुर्सी तोडफोड गरेका थिए । उनीहरुलाई कांग्रेसले कारबाही गर्ने चेतावनी दिएको छ । कांग्रेस सांसद डिल्ली चौधरीले प्रदेशसभामा कुर्सी तोडफोड गरेर केही सांसहरुले लज्जित बनाएको बताए ।  

तपाईंको बिचार