Saturday, January 23, 2021

२५ वर्षपछि सुदूरपश्चिमका पहाडी विमानस्थलमा नियमित हवाई उडान

प्रकाशित मिति: 2020/10/12

२६ असोज, काठमाडौं । दुई दशकभन्दा बढी समय बन्द भएको बैतडी विमानस्थलमा मंगलबार नियमित उडानका दौरान समिट एयरको जहाज अवतरण गर्दैछ । समिट एयरले धनगढी विमानस्थललाई आधार बनाएर सुदरपश्चिमका दूर्गम भेगमा नियमित उडान थाल्दैछ । यससँगै सुदुरपश्चिमको पहाडी क्षेत्रमा २०३५ सालबाटै नियमित सेवा दिएको सरकारी कम्पनी नेपाल वायुसेवा निगम भने यो हवाई बजारबाट बाहरिँदैछ । निगमले आन्तरिक उडानमा जहाज अभावका कारण यस भेगका विमानस्थलबाट उडान झिकेको लामो समय भइसकेको छ । बैतडी विमानस्थल २०३६ सालमा धुलै धावनमार्ग निर्माण गरी सञ्चालनमा आएको थियो । यो विमानस्थलमा नेपाल वायुसेवा निगमले २०५२ सालसम्म नियमित उडान गरेको थियो । तर, यात्रु अभाव तथा जहाजको समेत कमीको कारण देखाउँदै निगमले हात झिक्यो । सो स्थान अब समिट एयरले लिएको छ । सेवा बन्द भएको २५ वर्षपछि यो विमानस्थलमा अब धनगढीबाट समिट एयरले साताको एक (मंगलबार) नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

उता, २०३५ सालमै बनेको बझाङ विमानस्थलमा पनि समिटले साताको दुई उडान गर्ने गरी उडान तालिका बनाएको छ । यो विमानस्थल २०६५ सालबाट बन्द भएको हो । द्वन्द्व कालमा समेत नियमित जहाज उडेको विमानस्थल यात्रु अभावको कारण देखाउँदै बन्द गरिएको थियो ।
२०६६ सालमा यहाँबाट नेपाल एयरलाइन्सले कार्यालय नै बन्द गरि फर्किएको थियो । समिट एयरले बझाङमा साताको दुई (मंगलबार र शुक्रबार) नियमित उडान गर्नेछ ।
उता, डोटीको दिपायल विमानस्थलमा समेत अब समिट एयरले नियमित उडान गर्ने गरी तालिका सार्वजनिक गरेको छ । यहाँ २०६३ सालसम्म जहाज उडिरहेको थियो ।

तर, सडक यातायातले छोएसँगै यात्रु नहुने भन्दै नेपाल एयरलाइन्सले यहाँबाट पनि उडान झिक्यो । जसले गर्दा यस भेगका यात्रुलाई आकस्मिक अवस्थामा समस्या पर्ने गरेको थियो । अब धनगढीबाट साताको एक (शुक्रबार) दिन समिटको जहाज डोटी जानेछ । यसअघि अघिल्लो साता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एकै दिन तीन वटा विमानस्थलको निरीक्षण गरेका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा भएका भएको परीक्षण उडान सफल भएसँगै समिटले नियमित उडानको तालिका सार्वजनिक गरेको हो ।   

तपाईंको बिचार