Monday, January 18, 2021

सुदूरपश्चिमको पहाडी जिल्लामा सुरु भयो उडान

प्रकाशित मिति: 2020/10/13

२७ असोज, डोटी । सुदूरपश्चिमको पहाडी जिल्लामा नियमित उडान भर्ने योजना बनाएको समिट एयरको टुइनअटर बिमान मंगलबार बझाङ पुगेको छ । कैलालीको धनगढी विमानस्थलबाट समिट एयरको ९ एन—एकेजेड विमान १६ जना यात्रु बोकेर बझाङ पुगेको हो । बझाङबाट पनि १६ जना यात्रु बोकेर उक्त विहान धनगढी फर्केको छ । २०३५ सालमा धुले धावनमार्गमा हवाई उडान सुरु भएको बझाङ विमानस्थल २०६६ सालदेखि पूर्ण रुपमा बन्द थियो । द्वन्द्वकालमा समेत नियमित उडान भइरहेको बिमानस्थलमा शान्ति स्थापना भएसंगै यात्रुहरुको संख्या घटेको कारण देखाउँदै नेपाल वायुसेवा निगमले उडान बन्द गरेको थियो । पछिल्लो समय पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धावनमार्ग कालोपत्रे गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराई नेतृत्वको टोलीले असोज १६ गते विमानस्थलको निरीक्षण र परीक्षण उडान गरेको थियो ।

परीक्षण उडान सफल भएपछि मंगलबार नियमित उडान सुरु भएको छ । बझाङको पहिलो उडान पूरा गरेर विमान बाजुरा जाने तयारीमा रहेकोसमिट एयरका धनगढी प्रमुख सरोज उप्रेतीले जानकारी दिए । बझाङमा सातामा दुई दिन मंगलबार र शुक्रबार उडान भर्ने समिट एयरको तयारी छ । यस्तै समिट एयरले बैतडी र डोटीमा सातामा एक दिन उडान भर्ने तालिका बनाएको छ । ‘डोटीका लागि शुक्रबार उडान गर्ने तयारी भएको छ’ उप्रेतीले भने ‘बैतडीमा बिहीबारका लागि तय भएको थियो तर प्राविधिक कारणले शुक्रबार बनाउनुपर्ने जस्तो छ ।’ उनले मंगलबारै सबै जिल्लाको उडान तालिका तय गर्ने बताए । उनले बझाङको उडानले आफूहरुलाई उत्साहित बनाएको पनि बताए । समिट एयरले धनगढी–बाजुरा सातामा दुई दिन उडान भर्दै आएको छ ।
नेपाल नागरिक उड्यन प्राधिकरणले धनगढीलाई केन्द्र बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा सञ्चालन गर्न एयर ट्राफिक कन्ट्रोलर खटाइसकेको छ । टर्मिनल भवन, टावरलगायतका अन्य उपकरण जडान नभएको अवस्थामा तत्कालका लागि भीएचएफ प्रणालीबाट हवाई सेवा सञ्चालन गर्न प्राविधिक जनशक्ति खटाएको प्राधिकरणले जनाएको छ ।

तपाईंको बिचार