महिला सशक्तिकरणको क्षेत्रमा महानगरको योजना केन्द्रित
कार्तिक ५, काठमाण्डौ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महिला एवं सामाजिक सशक्तिकरणको क्षेत्रमा महानगरपालिकाले योजनाबद्ध ढंगले गतिविधीहरू अगाडि बढाइरहेको बताएकी छिन् । भरतपुर महानगरपालिका २१ पार्वतीपुरमा बुधवार सरस्वती महिला उद्दमशील महिला तालिम केन्द्र भवनको उद्घाटन गर्दै उनले सो बताएकी हुन् । भरतपुर महानगरपालिकाको २५ लाख रूपैयाँ र समूहको सहभागितामा थप ७ लाख रकम गरी ३२ लाख रूपैयाँको लागतमा तालिम केन्द्रले निर्माण गरिएको हो । सोही भवनको उदघाटन पश्चात मन्तव्य व्यक्त गर्दै दाहालले नवनिर्मित तालिम केन्द्र यस क्षेत्रका महिला उद्यमी र उद्यम गर्न चाहने महिलाहरूको सिप र क्षमताको आधारमा बहु उपयोगी हुने बताइन् । रोजगार सृजना र उत्पादकत्व बढाउनुपर्नेमा जोड दिँदै उनले यस्ता योजना लिएर महानगरपालिकका आउनेलाई सबै प्रकारको सहयोग गर्न महानगर तयार रहेको बताइन् । दाहालले महिला त्यसमा पनि दलित आदिवासी तथा सीमान्तकृत समुदायका महिलाहरूको क्षमता विकास, उद्दमशिलता बढाउन विशेष जोड दिएको उल्लेख गरिन् ।
समग्र बिकासले मात्र महानगरको दिगो र आत्मनिर्भर बिकास हुने भन्दै उनले यसलाइ मध्यनजर राखेर शिक्षा ,स्वास्थ्य, कृषि ,पर्यटन र पूर्वाधारको क्षेत्रमा योजनाबद्द ढंगले काम अगाडी बढेको बताइन् ।
कार्यक्रममा वडा न २१ का अध्यक्ष चित्रसेन अधिकारीले नवनिर्मित तालिमकेन्द्र भवन यस क्षेत्रका समुदायलाइ सिप सिकाइमा उपयोगी हुने बताए । वडा न २४ का वडाअध्यक्ष कान्छा मल्लले आकर्षक महिला उद्यमसिल तालिमकेन्द्र भवन निर्माण गरेर रचनात्मक काम गरेको भन्दै समुहलाइ धन्यवाद ब्यक्त गर्दै तालिम केन्द्रलाइ सिकाइको केन्द्र बनाउन आग्रह गरे ।
तपाईंको बिचार