Thursday, January 28, 2021

बृहत टुँडिखेल गुरुयोजना कार्यान्वयनमा लैजान राष्ट्रपति भण्डारीको आग्रह

प्रकाशित मिति: 2020/10/21

५ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीदेखि दशरथ रंगशालासम्म जोड्ने बृहत टुँडिखेल गुरुयोजना कार्यान्वयनमा लैजान राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई आग्रह गरेकी छन् ।
बुधबार काठमाडौंको रानीपोखरी उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले रानीपोखरी क्षेत्रलाई हालको रत्नपार्क, खुलामञ्च, टुँडिखेल, भृकुटीमण्डप र दशरथ रंगशाला समेतलाई जोडी तयार पारेको वृहत्तर गुरुयोजना सरोकारवाला पक्षसँग समन्वय गरी कार्यान्वयनमा लैजान आग्रह गरेकी हुन् ।
पुनर्निर्माण हुँदै गरेको धरहरा र यस गुरुयोजनाको कार्यान्वयनले काठमाडौँबासीलाई विशाल खुलाक्षेत्र उपलब्ध गराउने राष्ट्रपति भण्डारीले बताइन् ।
भूकम्पबाट क्षतिग्रस्त बाँकी संरचनाहरूको पुनर्निर्माण पनि योजनावद्ध रूपमा छिट्टै सम्पन्न हुने उनले बताइन् ।
बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीसँगै रहेको दरबार हाइस्कुलको पुनर्निर्मित भवनको पनि उद्घाटन गरेकी छन् । भूकम्पबाट क्षतिग्रस्त विद्यालयको भवन पुरानै शैलीमा भूकम्प प्रतिरोधी प्रविधिमा आधारित भई पुनर्निर्माण गर्न सहयोग पु¥याउने चीन सरकारलाई राष्ट्रपति भण्डारीले धन्यवाद दिएकी छन् ।

 

तपाईंको बिचार