Thursday, January 28, 2021

कतार पठाउने भन्दै अवैध अन्तरवार्ता लिने लाजिम्पाटको होप ईन्टरनेशनलमा बिभागको छापा

प्रकाशित मिति: 2020/11/24

९ मंसिर, काठमाडौं । पूर्व श्रमस्वीकृति नलिई कतार पठाउने भन्दै कामदारसँग अन्तर्वार्ता लिने अर्को म्यानपावर कम्पनीमा पनि मंगलबार वैदेशिक रोजगार विभागले छापा मारेको छ । लाजिम्पाटस्थित होप इन्टरनेसनलमा विभागले छापा मारेको हो । छापा मार्ने क्रममा नेपालस्थित विदेशी दूतावासको गाडी पनि म्यानपावर कम्पनी परिसरमै भेटिएको छ । विभागको टोली पुगेको थाहा पाएपछि अन्तरवार्ता बन्द गरेर म्यानपावर सञ्चालक, कर्मचारी र दूतावासका अधिकारी कार्यालयभित्र लुकेका थिए । विभागको टोलीसँग अहिले म्यानपावरका एजेन्टहरुले वादविवाद गरिरहेका छन् ।

विभागले सोमबार डीडी ह्युमन रिसोर्स र एसओएस म्यानपावर कम्पनीमा पनि छापा मारेर कागजपत्रसमेत जफत गरेको थियो । ती म्यानपावरमा ४ सयभन्दा बढी युवाहरु अन्तरवार्तामा लागि आएको भेटिएको थियो ।

नियमअनुसार म्यानपावर कम्पनीले श्रमिकको मागपत्र विदेशस्थित दूतावासबाट प्रमाणीकरण गराएर वैदेशिक रोजगार विभागबाट पूर्वश्रमस्वीकृति लिनुपर्छ । र, तय भएको अन्तरवार्ताको मिति विभागलाई जानकारी गराउनुपर्छ ।
अन्तरवर्ताबाट छनोट भएका कामदारको अन्तिम श्रम स्वीकृति विभागबाट जारी हुन्छ । तर, अहिले काठमाडौंमा विभिन्न म्यानपावरले ठगी गर्ने गरी पूर्वस्वीकृति नभएको श्रमिकको मागपत्रमा आधारित भएर अन्तरवार्ता चलाइरहेको पुष्टि भएको छ । कतारको नेपालस्थित कतारी दूतावासका कर्मचारी नै यसमा संलग्न रहेको देखिएको विभागका एक अधिकारीले बताए । 

तपाईंको बिचार