Monday, January 18, 2021

सुदूरपश्चिममा पहिलो चौमासिकमा ६ प्रतिशत बजेट खर्च

प्रकाशित मिति: 2020/11/25

१० मंसिर, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २ अर्ब ९ करोड ८६ लाख ३६ हजार रुपैयाँ खर्च गरेको छ । यो कुल बजेटको ६.२९ प्रतिशत हो ।चालू आर्थिक वर्ष २०७७, ०७८ को प्रथम चौमासिक सम्मको बजेट खर्च र राजश्व सङ्कलनको अवस्था सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले गत आर्थिक वर्षम भन्दा खर्च बढेको बताए । गत आर्थिक वर्षको पहिलो चौमासिकमा कुल बजेटको ४.५३ प्रतिशत मात्रै खर्च भएको थियो ।

यस आर्थिक वर्षमा चालुतर्फ १ अर्ब १० करोड ४७ लाख ५० हजार अर्थात् ६.६५ प्रतिशत र पुँजीगततर्फ ९९ करोड ३८ लाख ७६ हजार अर्थात् ५.९३ प्रतिशत खर्च भएको मन्त्री बोहराले जानकारी दिए ।

गत आर्थिक वर्षको पहिलो चौमासिकमा चालुतर्फ ५.४० प्रतिशत र पुँजीगततर्फ ३.५२ प्रतिशत मात्रै खर्च भएको थियो । चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ३८ करोड १३ लाख ५८ हजार रुपैयाँको बजेट ल्याएको थियो । मन्त्री बोहराले यस वर्ष ९० प्रतिशत बढी बजेट खर्च गर्ने दाबी गरेका छन् । पहिलो चौमासिकमा प्रदेश सरकारको बजेट खर्चसमेत सन्तोषजनक रहेको उनले बताए ।
 

तपाईंको बिचार