Saturday, January 23, 2021

पुल कसले उद्घाटन गर्ने भन्नेमा कांग्रेस र नेकपाबिच दमौलीमा तनाब, निषेधाज्ञा जारी

प्रकाशित मिति: 2020/12/02

मंसिर १७, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल केहीदिन यता गृहजिल्ला तनहुँमा छन ।

पौडेलले मंगलबारमात्र तनहुँको ब्यास नगरपालिका र रिसिङ गाउँपालिका जोड्न सेती नदीमाथि बनाइएको पुलको उद्घाटन गरे । उक्त उद्घाटनप्रति नेकपा तनहुँले विरोध जनायो । विरोधका बाबजुद्  पौडेलले जबरजस्ती उक्त पुल उद्घाटन गरेको नेकपाका स्थानीय नेताहरूले आरोप लगाए । पौडेलले बुधबार अर्को बुल्दीखोला पुल उद्घाटन गर्ने तयारी गरेका छन ।
ब्यास नगरपालिकाका मेयर समेत रहेका तनहुँ कांग्रेसका सभापति बैकुण्ठ न्यौपानेका अनुसार पुल निर्माण उपभोक्ता समितिले उद्घाटनका लागि सबै निकायलाई पत्राचार गरिसकेको थियो ।

 

तर नेकपा तनहुँले उक्त पुल उद्घाटन गर्न नदिने भन्दै दमौलीमा प्रदर्शन गरेको छ । पुल उद्घाटन रोक्न भन्दै नेकपा निकट युवा संघको ब्यानरमा दमौलीमा विरोध जुलुस निस्किएको छ । कांग्रेसले जबरजस्ती गरेको भन्दै विरोध जुलुस निकालेको नेकपा तनहुँका अध्यक्ष केदार सिग्देलले बताए ।  प्रदेश सरकार मातहत बनेको उक्त पुल निर्माण गर्न रामचन्द्र पौडेलले विशेष योगदान रहेको तनहुँ कांग्रेस सभापति न्यौपाने बताउँछन । 
झडपको स्थिति बनेपछि पुल भएको क्षेत्रमा निषेधाज्ञा जारी गरेको तनहुँका प्रमुख जिल्ला अधिकारी सागर अचार्यले बताए। 
पुल उद्घाटनका विषयलाई लिएर दमौलीमा कांग्रेस र नेकपाबीच झडप हुने अवस्था आएको सिडिओ आचार्यले बताए ।  उनले बुल्दी पुल भएको क्षेत्रलाई अहिले दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको बताए । यता, कांग्रेसले पनि पुल उद्घाटन गरेरै छाड्ने बताएको छ । तनहुँ कांग्रेस सभापति न्यौपानेले निषेधाज्ञा तोडेरै भएपनि आजै पुल उद्घाटन हुने बताए ।

तपाईंको बिचार