Tuesday, January 19, 2021

रौतहट बमकाण्डका आरोपी मोहताब आलम भारतबाट पक्राउ

प्रकाशित मिति: 2020/12/07

रौतहट बमकाण्डका आरोपी मोहम्मद मोहताब आलम पक्राउ परेका छन । भारतीय प्रहरीको सहयोगमा प्रहरीले उनलाई भारत मोतिहारीबाट पक्राउ गरेको हो।  ५५ वर्षीय मोहताब रौतहट बमकाण्डका मुख्य आरोपी मोहम्मद अफताब आलमका भाइ हुन । 
रौतहट साविक राजपुर फरदहवा गाविस ४ हाल राजपुर नगरपालिका ४ मा २०६४ चैत २७ गते बम विस्फोट गराइएको आरोपमा कांग्रेस नेता आलम अहिले पुर्पक्षका लागि थुनामा छन । तर, प्रदेश २ प्रहरीले मोहताबलाई नेपाल(भारत सीमाना बौदीमाई नगरपालिका(७ बड्की बंकुल क्षेत्रबाबाट पक्राउ गरिएको बताएको छ । 
प्रारम्भिक अनुसन्धानमा उनले आफ्ना दाइ अफताबको निर्देशनमा घटना लुकाउने उद्देश्यले विस्फोटमा परी मृत्यु तथा घाइते भएका मानिसलाई ट्याक्टरमा राखेर इँटाभट्टामा जलाएको स्वीकार गरेको प्रहरीको दाबी छ ।

के हो रौतहट बमकाण्ड ?

 
रौतहट बमकाण्डमा आलमसहित १० जनालाई विस्फोटक पदार्थ ऐन २०१८, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानमुद्दा लगाइएको छ । उनीहरूलाई विभिन्न तीन कसूरमा ३२ वर्ष सजाय माग छ । विस्फोटक पदार्थमा २ वर्षसम्म कैद र २० हजार जरिवाना, ज्यान मार्ने कसूरमा जन्मकैद (बीस वर्ष) र ज्यान मार्ने उद्योगमा दस वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना माग गरिएको छ । अभियुक्तमध्ये मुक्ति साहलाई देखीदेखी, जानीजानी पनि घटना ढाकछोप गरेकोमा मतियार बनाइ अभियोग पत्र दर्ता गरिएको छ । अभियोग पत्रमा दर्जनभन्दा बढी व्यक्तिलाई इँटाभट्टामा लगेर जिउँदै जलाई मारेको उल्लेख छ।

रौतहट बमकाण्डको कसूरमा आलमसहित मोहताब आलम, शेख भदई, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन् भन्ने शेख मलकार, गौरीशंकर साह र मुक्ति साहलाई प्रतिवादी बनाइएको छ।

पीडक प्रतिवादीमध्ये कांग्रेस सांसद अफताब सबैभन्दा पहिले पक्राउ परेका थिए। 

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको साबिक राजपुर गाविस(४ फरहदवामा बम बिस्फोट गराएको र त्यसक्रममा केहीलाई जिउँदै इँटाभट्टामा लगेर जलाएको आरोप कांग्रेस सांसद आलमसहितका व्यक्तिमाथि छ।

आलमका काका शेख इद्रिसको गोठमा चैत २७ गते साँझ साढे ६ बजे बम विस्फोट भएको थियो। विस्फोटमा परी गोठमा भएका केही व्यक्तिको मृत्यु र झन्डै दुई दर्जन घाइते भएको आशंका थियो। मृतक र घाइतेलाई नजिकैको इँटाभट्टाको भुंग्रोमा हालेर जलाइएको आरोप आलममाथि लागेको थियो।

त्यहाँ भएका कति मान्छेलाई जलाइयो र कति गायब पारिए, यकिन नभएकाले अभियोग पत्रमा दर्जन बढी उल्लेख गरिएको छ ।

रौतहट बम काण्डमा रुक्सना खातुन र श्रीनारायणसिंह राजपुतले आलमसहितका व्यक्तिमाथि किटानी जाहेरी दिएका थिए । तिनै जाहेरी अस्तित्वमा रहेकाले रौतहट क्षेत्र नम्बर(२ बाट निर्वाचित सांसद आलम घटना भएको १२ वर्षपछि गत वर्ष असोजमा पक्राउ परेका थिए । रुक्सनाका २२ वर्षीय छोरा ओसी अख्तर र नारायणसिंहका २४ वर्षीय छोरा त्रिलोकप्रताप सिंह राजपुतलाई इँटाभट्टामा लगेर जलाएको अभियोग आलमसहितका व्यक्तिमाथि छ ।

तपाईंको बिचार