Sunday, January 17, 2021

मुग्लिन पोखरा सडकको मध्यखण्ड विस्तारको ठेक्का चिनियाँ कम्पनीले पाउँदै

प्रकाशित मिति: 2020/12/07

२२ मंसिर, काठमाडौं । मुग्लिन पोखरा सडकखण्ड विस्तार आयोजना अन्तरगतको मध्यखण्डको ठेक्का चिनियाँ कम्पनीले पाउने भएको छ । आँबुखैरहनीदेखि दमौलीसम्मको करिब ४१ किलोमिटर सडक विस्तारको जिम्मा चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले पाउने भएको हो ।

ठेक्का सम्झौताका लागि सडक विभाग अन्तरगतको आयोजना निर्देशनालय (एडीबी)ले ठेक्का स्वीकृति गर्ने आसयको सूचना प्रकासित गरिसकेको छ । अन्तिम चरणमा प्रतिस्पर्धामा रहेका १० कम्पनीमध्येबाट कम रकम कबोल गरेको आधारमा यो कम्पनी छनोटमा परेको उपआयोजना निर्देशक राकेश महर्जनले जानकारी दिए ।

दमौली पोखरा खण्डको ठेक्का सम्झौता गर्न छनोट भएको कम्पनीको विवरण एसियाली विकास बैंक (एडीबी)मा पठाइएपनि अझै ‘नो अब्जेक्सन’ प्राप्त नभएको आयोजनाले जनाएको छ । मुग्लिन आँबुखैरहनी खण्डको भने अहिले पनि  विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउनेको काम चलिरहेको छ । यो आयोजना अन्तरगत मुग्लिनबाट पोखरासम्म पुग्न ४ लेनको सडक बन्ने छ । एसियाली विकास बैंकले यो सडकखण्ड विस्तारका लागि करिब २२ अर्ब ऋण दिएको छ ।

करिब ८० किलोमिटरको यो सडकलाई तीन प्याकेजमा विभाजन गरेर ठेक्का लगाउने तयारी छ । यो टेन्डरबाट छानिने कम्पनीले सडकसीमाभित्रको संरचना हटाउने, रुख कटान गर्ने, पोल सार्नेसहित सडक विस्तार गर्नेसम्मका काम जिम्मा पाउनेछ । यो खण्ड विस्तार गर्दा करिब ६ हजार रुख काट्नुपर्ने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनले देखाएको छ ।

तपाईंको बिचार