Saturday, January 23, 2021

निगमको १० वर्षे योजना : १२ वटा जहाज थप्ने, ३ वर्षपछि नाफामा लैजाने

प्रकाशित मिति: 2020/12/10

२५ मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगमले आगामी १० वर्षभित्र १२ वटा नयाँ जहाज थप गर्ने लक्ष्यसहित व्यवसायिक योजना तय गरेको छ । निगम सञ्चालक समितिको गत मंगलबार बसेको बैठकले १० वर्षे व्यवसायिक योजना (सन् २०२१(२०३०) पास गरेको हो ।

व्यवसायिक कार्ययोजना स्वीकृतिका लागि अब संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अर्थ मन्त्रालयमा पठाइने भएको छ । ती मन्त्रालयबाट स्वीकृत भएमा व्यवसायिक योजनामै टेकेर निगमले आफ्ना गतिविधि सञ्चालन गर्ने जनाएको छ । सञ्चालक समिति सदस्य अच्युत पहाडीका अनुसार १० वर्षको अवधिमा निगमले अन्तर्राष्ट्रिय उडानमा ६ र आन्तरिक उडानमा ६ वटा जहाज थप गर्ने भएको छ ।

यसरी थप हुने जहाजमध्ये अन्तर्राष्ट्रियतर्फ ४ वटा न्यारोबडी जहाज र २ वटा वाइडबडी जहाज थप गरिने छ । यससँगै अन्तर्राष्ट्रिय उडानमा १० वर्ष भित्र निगमसँग कुल १० वटा जहाज हुनेछन् ।
यता, आन्तरिकतर्फ भने निगमले सुगम भेगमा उडाउन कुल २ वटा ठूला जहाज थप गर्ने भएको छ । छोटो धावनमार्ग भएका आन्तरिक विमानस्थलमा उठाउने गरी निगमले ४ वटा जहाज किन्ने गरी व्यवसायिक योजना बनाएको छ ।
त्यसपछि विगतमा नेपाल एयरलाइन्सले उडान गरिरहेका सबै आन्तरिक गन्तब्यमा निगमको सेवा विस्तार गरिने व्यवसायिक योजना छ । अहिले निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि चार वटा मात्र जहाज छन् ।

निगमले अन्तर्राष्ट्रिय उडानमा सन् २०२३भित्रै एक वाइडबडी र दुई न्यारोवडी जहाज किन्ने योजना बनाएको छ । यस अवधिमा आन्तरिक उडानमा एक ठूलो र दुई सानो जहाज थप गरिने छ ।
निगमको मुख्य उत्पादन नै सीट भएका कारण जहाज खरीद गरी क्रमशः बजारमा निगमको बजार हिस्सा बढाउने लक्ष्य राखिएको छ । सञ्चालक समिति सदस्य पहाडीका अनुसार सन् २०२१ देखि २०२३ सम्म तीन वर्ष नेपाल एयरलाइन्स घाटामै संचालन हुनेछ ।
चौथो वर्षबाट भने क्रमशः संचालन मुनाफा गर्न सक्ने संस्थाका रुपमा रुपान्तरण गर्ने लक्ष्य तय भएको छ । सो अवधिसम्म नेपाल एयरलाइन्सले काठमाडौंसहित तीन अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवामा समेत ग्राउण्ड हृयान्डिलिङको सेवा सञ्चालन थालिसक्ने लक्ष्य राखिएको छ ।

तपाईंको बिचार