Tuesday, January 19, 2021

रामजानकी विवाह बिधिमात्रै, जन्ती नआउने

प्रकाशित मिति: 2020/12/11

२६ मंसिर, जनकपुरधाम । कोरोनाका कारण जानकी मन्दिरमा यस पटकको विवाह पञ्चमी पनि प्रभावित   भएको छ । प्रत्येक वर्ष विवाह पञ्चमीको दुई साताअघिदेखि नै चहलपहल शुरु हुन्थ्यो । तर यस वर्ष विवाह पञ्चमी आउन एक साता बाँकी रहँदा समेत कुनै रौनक देखिएको छैन ।

यस पटक विवाह पञ्चमी पुस ४ गते शनिबार परेको छ । वर्षौंदेखि चल्दै आएको परम्परालाई यस वर्ष सीमित रुपमा मनाइने जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले बताए ।

यस पटक विवाह पञ्चमीलाई सीमित रुपमा मनाउन सप्ताहव्यापी कार्यक्रम घोषणा गरिएको छ । मंसिर २९ गते जनकपुर नगर दर्शन, ३० गते फूलबारी लिला, पुस १ गते धनुष यज्ञ, पुस २ गते तिलकोत्सव, ३ गते मटकोर, ४ गते शुभ विवाह र ५ गते रामकलेबा विधि गरिनेछ ।
यस पटकको विवा पञ्चमीमा भारतबाट जन्तीसमेत नआउने जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दासले बताए । 
भगवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष विवाह पञ्चमी मनाउने गरिन्छ । जनकपुरधामस्थित जानकी मन्दिरमा यो पर्व उत्सवकै रुपमा मनाउने गरिन्छ ।

यस दिन भगवान रामको जन्मस्थल अयोध्याबाट प्रत्येक वर्ष जनकपुरमा जन्ती आउने गर्दछन् । जनकपुरधामलाई माता जानकीको माइती मानिन्छ । त्रेतायुगमा भगवान राम र सीताको विवाह भए अनुसारकै प्रकृया अपनाएर यहाँ विवाह पञ्चमी मनाउने गरिन्छ ।

तपाईंको बिचार