Thursday, January 28, 2021

मुवा झरना पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै

प्रकाशित मिति: 2020/12/11

२६ मंसिर, पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ र ६ को सीमामा अवस्थित मुवा झरना पछिल्लो समयमा पर्यटकीय गन्तव्य बनेको छ । यसअघि गुमनाम रहेको यो झरनालाई स्थानीय दीपज्योति युवा क्लबले प्रचारमा ल्याएपछि पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको भीड लाग्न थालेको हो । निकै दुर्गम स्थानमा रहेको यो झरनामाथि निर्माण गरिएको झोलुङ्गे पुलबाट झरनाको दृश्यावलोकन गर्न निकै आनन्द आउँछ । त्यसैले मुवा झरनामा रमाइलो गर्न आउने पर्यटकको सङ्ख्यासमेत क्रमशः बढ्दै गएको छ ।

जिल्लामा जैविक विविधता तथा वातावरण संरक्षणका क्षेत्रमा सक्रिय दीपज्योति युवा क्लबले विभिन्न प्रचार सामग्रीमा मुवा झरनाको तस्वीर राखेर प्रचार गरेपछि आन्तरिक पर्यटक यहाँ पुग्न थालेका हुन् । सामाजिक सञ्जालमा मुवा झरना तथा यहाँ खिचिएका तस्वीर राख्ने क्रमसँगै झरनाले चर्चा पाएको झरना संरक्षण एवं सम्वद्र्धन समितिका अध्यक्ष रविन जबेगुले बताए । पाँचथरको फिदिमबाट फिदिम–फालोट सडक हुँदै फालेलुङ–६ ओगेम्बा पुगेपछि करिब १५ मिनेट कच्ची शाखा सडकको यात्रा र आधा घण्टा पैदल यात्रापछि मुवा झरना पुग्न सकिन्छ । दुई ठूला पाखाको बीचमा ठूला चट्टानको बीचबाट झरेको झरना निकै आकर्षक देखिन्छ । यहाँको मुवा खोला नै झरनाको रुपमा अग्लो पहराबाट झण्डै १०० मिटर तल झरेकाले निकै सुन्दर देखिएको हो । झरनामा बाह्रै महिना प्रशस्तै पानी हुने हुँदा यो झरना जिल्लाको महत्वपूर्ण पर्यटकीय गन्तव्य वननसक्ने स्थानीयवासीको अपेक्षा छ ।

तपाईंको बिचार