Tuesday, January 26, 2021

भाजपा नेताको भ्रमणले जन्मायो नेकपामा आशंका

प्रकाशित मिति: 2020/12/18

३ पुस, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेको नेपाल भ्रमणले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उच्च नेतृत्व तहमा विभिन्न आशंकाहरु उत्पन्न भएका छन् ।

पछिल्लो समय नेपालको मामिलामा भाजपाको चासो बढेको चौथाइवालेको भ्रमणले पुष्टि गरेको छ । उनी नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणमा अघिल्लो साता नेपाल भ्रमणमा आएका थिए ।

चौथाइवालेले नेकपाका ओली निकट नेताहरु, प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) का नेता महन्थ ठाकुर र राजेन्द्र महतोलाई भेटेका थिए ।

सत्तारुढ दलभित्रको विवाद उत्कर्षमा पुग्दै गरेको र सडकमा राजावादीहरुको प्रर्दशन भइरहेको समयमा भाजपाको विदेश विभागको भ्रमणले विभिन्न आशंकाहरु जन्माएको हो ।

पछिल्लो समय भारतका तर्फबाट उच्च अधिकारीहरुले लगातार नेपालको भ्रमण गरिरहेका छन् । प्रधानमन्त्री केपी ओलीकै निमन्त्रणामा भारतीय खुफिया एजेन्सीका प्रमुख सामन्त कुमार गोयल नेपाल भ्रमणमा आएका थिए । त्यसपछि भारतीय सेनापति मनोज मुकुन्द नेपाल भ्रमणमा आए । त्यसपछि भारतीय विदेश सचिव हर्षबर्द्धन श्रृंगलाले नेपालको भ्रमण गरे ।

यी सबै भ्रमणमा प्रधानमन्त्री ओलीले आफू नेपालसँगको सम्बन्धलाई सुदृढ बनाएर अगाडि जान चाहेको सन्देश भारतलाई दिएका छन् भने भारतले पनि आफूलाई ओली सरकारसँग काम गर्न कुनै कठिनाई नभएको सन्देश दिएको छ ।

भाजपाका विदेश विभाग प्रमुखको भ्रमणलाई लिएर साउथ ब्लक असन्तुष्ट भएको पाइएको छ । भर्खरै विदेश सचिवले भ्रमण गरेर मोदीको सन्देश दिइसकेको अवस्थामा भाजपाका नेताको अकस्मात् भ्रमणलाई उनीहरुले असहज रुपमा लिएको बुझिएको छ ।

चौथाइवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिन्छन् र उनी उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ निकट नेता हुन् । मोदीको हरेक विदेश भ्रमण अगाडि उनी तयारीका लागि भ्रमणमा जाने गर्दछन् ।

पछिल्लोपटक मोदीको काठमाडौं र जनकपुर भ्रमणको पूर्वसन्ध्यामा पनि उनी नेपाल भ्रमणमा आएका थिए ।

यस अगाडि विदेश मामिलामा भाजपाका राम माधव सक्रिय थिए । तर, उनी अहिले किनारा पारिएका छन् ।

चौथाइवालेको भ्रमणका बारेमा नेकपाका वरिष्ठ नेताहरु कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र अन्य वरिष्ठ नेताहरुलाई कुनै जानकारी थिएन । उनी सत्तारुढ नेकपाका प्रधानमन्त्री ओली निकटका नेतालाई भेटेर फर्किएका थिए ।

समाचार स्रोतका अनुसार चौथाइवालेको भ्रमणको मुख्य उद्देश्य प्रम ओलीलाई भाजपाको पूर्णरुपमा समर्थन रहेको छ भनी सन्देश दिनु थियो । सत्तारुढ नेकपामा सत्ता संघर्ष चलिरहेको समयमा भाजपाले सरकार ढाल्न खोजेको छैन भनी आश्वस्त पार्नु उनको भ्रमणको उद्देश्य थियो । स्रोतका अनुसार पछिल्लो समयमा भाजपाले आफू ओली सरकारको निकट रहेको सन्देश दिएको छ । कोभिड–१९ को महामारीका कारण दुई देशको बीचमा हवाई उडान सुरु नभइसकेको अवस्थामा उनी स्थलमार्गबाट हतारिएर नेपाल भ्रमणमा आउनुले धेरै आशंका जन्माएको सत्तारुढ दलकै नेताको भनाइ छ । उनी हतारिएर नेपाल भ्रमणमा आउनुपर्ने त्यस्तो कुनै ठूलो एजेन्डा पनि थिएन । त्यसैगरी उनको भ्रमणलाई राजावादीको आन्दोलनसँग पनि जोडेर हेर्ने गरिएको छ । अहिले सत्तामा रहेका भाजपाका मन्त्रीहरुले नेपालमा संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताकै पक्षमा रहेको बताए पनि भाजपा भने नेपाललाई हिन्दु राज्य बनाउने पक्षमा रहेका छन् ।

नेपाल भ्रमणमा आएका चौथाइवालेको पनि पूर्वराजा ज्ञानेन्द्र र अन्य संघसंस्थाहरुसँग राम्रो सम्बन्ध रहेको बताइन्छ । भाजपाका विभिन्न नेताले नेपालमा भइरहेको हिन्दु राज्य पुनस्र्थापना अभियानलाई समर्थन समेत गर्ने गरेका छन् ।
प्रधानमन्त्री केपी ओली र भाजपाको सम्बन्ध सुमधुर हुनुका पछाडि चीन फ्याक्टर भएको नेताहरुको बुझाइ छ । केही समय अगाडिसम्म नेकपाभित्रको विवादमा निकै सक्रिय नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले पछिल्लो समयमा तटस्थ पोजिसन लिएकी छन् । केही समय अगाडिसम्म चीन ओली नेतृत्वको सरकारलाई नै निरन्तरता दिनुपर्ने पक्षमा थियो । तर, पछिल्लो समयमा उनले आफ्नो पोजिसनमा केही परिवर्तन गरेकी छन् । यसले गर्दा चीनसँग ओली केही असन्तुष्ट भएको र भारतसँग सम्बन्ध सुधारमा लागेको नेताहरुको बुझाइ छ ।

तपाईंको बिचार