Saturday, January 16, 2021

अधिकारीको संयोजन र बोधिसत्वको सहयोगमा तारकेश्वरमा एकैदिन चार अलग क्षेत्रमा सहयोग

प्रकाशित मिति: 2020/12/20

पुस ५, नुवाकोट । गन्तव्य नेपाल गु्रपका अध्यक्ष तथा स्थानिय समाजसेवी शिव अधिकारी ‘अबिरल’को संयोजन तथा पहल र बोधिसत्व बिहारको सहयोगमा नुवाकोट तारकेश्वरमा रहेका बिभिन्न गुम्बा, बिद्यालय भवन लगायतका क्षेत्रको पुननिर्माण तथा स्तरबृद्धिका लागि आर्थिक सहयोग उपलब्ध गराईएको छ ।

समाजसेवाको कर्मलाई बढावा दिन पछिल्लो समय स्थानिय तारकेश्वर गाउँपालिका क्षेत्रमा सक्रिय भएका अधिकारीले अध्ययन अवलोकनका क्रममा बोधिसत्व विहारका सुप्रिम मास्टर हेगुवाङ शी, विहारका कार्यक्रम संयोजक समाजसेवी मित्र शान्त शर्मा लगायतको टोली सहित गाउँगाउँमा पुगेर उनले सहयोग रकमको घोषणा समेत गरेका छन । 
जसअन्र्तगत तारकेश्वर ३, तेर्सेपानी स्थित हस्तिकेशर आधारभूत विद्यालयको निरीक्षण गरी विद्यालयमा अध्यापनरत २ जना शिक्षकको पारिश्रमिक सहयोग गर्ने प्रतिबद्धता सहित विद्यालयलाई आवश्यक पर्ने टेबल, कुर्सी, दराज, कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन लगायत सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन । सोही क्रममा तारकेश्वर २ चौतारा गाउँमा रहेको गौरा पार्वती सामुदायिक स्वास्थ्य केन्द्रको अवलोकन गरी स्वास्थ्य केन्द्रलाई आवश्यक पर्ने औषधि तथा स्वास्थ्य सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । 
यस्तै तारकेश्वर ४ दर्शनटार स्थित भूकम्पपछि भग्नावशेष बनेको गौरेश्वर प्राथमिक विद्यालयको निरीक्षण गरी स्थानीयसँगको हातेमालोमा आवश्यक पूर्वाधार निर्माण सहित विद्यालयलाई व्यवस्थित बनाई पठनपाठन सहज गराउन सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन । हाल यस विद्यालयमा अध्ययनरत ४० जना बालबालिका  पठनपाठन गरिरहेका छन् । 
यस्तै तारकेश्वर १ दाङसिङ सिरानटोल स्थित रातोडाँडा गुम्बाको निर्माण सम्पन्न गर्न तत्काल रु २ लाख नगद सहयोग प्रदान गर्नुका साथै गुम्बा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ । यसका साथै स्थानिय क्षेत्रका २ वटा मन्दिरलाई आर्थिक सहयोग समेत प्रदान गरेका छन ।
यस्तै दुईसाता अघि अधिकारीले तारकेश्वर क्षेत्रका दर्जन बढि क्लबहरुलाई खेलकुद सामाग्री, स्वास्थ्य सामाग्री, स्ट्रेचर लगायत सामाग्री सहित आर्थिक सहयोग गरेका थिए ।
समाजसेवी अधिकारीले आफ्नो समाजसेवाको श्रृंखला जारी रहेको भन्दै आगामी दिनमा अझ जनभावना अनुसार काम गर्दै जाने बताए ।

तपाईंको बिचार