Saturday, January 16, 2021

संसद सचिवालयको प्रष्टीकरण : अविश्वासको प्रस्ताव साढे ३ बजे नै दर्ता भएको हो

प्रकाशित मिति: 2020/12/23

पुस ८, काठमाण्डौ । संघीय संसद सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पुस ५ गते अपरान्ह साढे ३ बजे दर्ता भएको प्रष्ट पारेको छ । यसअघि सभामुखको सचिवालयले अविश्वासको प्रस्ताव बिहान साढे १० बजे दर्ता भएको जनाएको थियो ।  नेकपा प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्रीले संसद विघटन गर्न लागेको सूचना मिडियाबाट पाएलगत्तै अविश्वासको प्रस्ताव दर्ता गरेको बताएका थिए । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले विज्ञप्ति जारी गर्दै सभामुखलाई सम्बोधन गर्दै विधिवत पेश भई सभामुखको तोक आदेशपछि सोही दिन अपरान्ह ३ बजेर ३० मिनेटमा कार्यव्यवस्था शाखा प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव दर्ता भएको जनाएको छ । यसअघि साढे १० बजेको समयलाई टिपेक्स्ट लगाएर साढे ३ बजे बनाइएको समाचारहरू प्रकाशित भएका थिए ।

भ्रम फैलिएपछि सचिवालयले विज्ञप्ति जारी गर्दै प्रष्ट पारेको हो । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले ५ गते नै उक्त प्रस्ताव दिउँसो साढे ३ बजे दर्ता भएको उल्लेख गरेका थिए । सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधि सभा विघटनको असंवैधानिक निर्णय लिएकी थिइन । राष्ट्रपति कार्यालयले पठाएको पत्र साँझ ५ बजेर १० मिनेटमा संसद सचिवालयमा दर्ता भएको थियो ।

तपाईंको बिचार