Thursday, January 28, 2021

ओलीले केन्द्रिय सदस्यमा मनोनित गरेसँगै कर्णाली प्रदेश सरकार अल्पमतमा

प्रकाशित मिति: 2020/12/23

८ पुस, सुर्खेत । कर्णाली  प्रदेश सभाका पूर्वमाओवादी खेमाका दुईजना सांसद ओली समूहको केन्द्रीय सदस्यमा मनोनित भएपछि प्रदेश सरकार अल्पमतमा परेको छ ।पूर्वमाओवादीको कोटाबाट दैलेख क्षेत्र नम्बर १ (क)बाट निर्वाचित सांसद धर्मराज रेग्मी र सुर्खेतको क्षेत्र नम्बर १ (क)बाट निर्वाचित ठम्बर विष्ट केन्द्रीय सदस्यमा मनोनित भएका हुन् ।

प्रचण्ड नेपाल समूह परित्याग गरेका सांसद रेग्मी र विष्ट प्रधानमन्त्री केपी शर्मा ओलीले थपेका ५५६ जना केन्द्रीय सदस्यभित्र परेका छन् । गत असोज २५ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्तावमा हस्तार गर्ने १८ जना सांसदमध्ये रेग्मी र विष्ट पनि थिए । तर, सांसद विष्टले अन्तिम समयमा अविश्वासको प्रस्तावबाट आफ्नो नाम फिर्ता लिएका थिए ।

त्यतिबेला प्रदेशसभाको उपसभामुख रहेकी पूर्वमाओवादी खेमाकै सांसद पुष्पा घर्ती विष्टले पनि अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी थिइन् । विष्ट अहिले प्रचण्ड नेपाल समूहमै छन् ।

प्रदेश सरकार अल्पमतमा

दुईजना सांसद ओली समूहमा गएपछि कर्णाली प्रदेश सरकार पनि अल्पमतमा परेको छ । ४० सदस्यीय प्रदेश सभामा नेकपाका ३३ जना, नेपाली कांग्रेसका ६ र राप्रपाका एकजना सांसद छन् ।

नेकपाका ३३ मध्ये अब ओली समूहमा सभामुखसहित १४ जना, दाहाल नेपालका १९ जना सांसदहरु रहेका छन् । बादल समूह पनि दाहाल समूहलाई नै साथ दिदै आएको छ । तर, प्रदेश सरकार गठन गर्नका लागि २१ जना सांसदको आवश्यकता पर्छ । यसका लागि दुवै पक्षले कांग्रेस र राप्रपासाग सहकार्य गर्नुको विकल्प छैन ।

कांग्रेस र प्रचण्ड माधव समूह मिल्दा सांसद संख्या २५ हुन्छ । यसो भएको खण्डमा सहजै सरकार बन्न सक्छ ।

कााग्रेस(केपी समूह मिल्दा २० हुन्छ । यत्तिले मात्रै पनि सरकार गठन गर्न मिल्दैन । यसका लागि राप्रपासाग पनि मिल्नु पर्छ । राप्रपाका एकजना सांसद थपिदा सांसद संख्या बहुमत अर्थात २१ हुन्छ तर त्यसमा पनि ओली पक्षका एकजना सांसद सभामुख छन् । यसले गर्दा सरकार बनाउन कठिन छ । अबको अवस्थामा कर्णाली प्रदेश सरकार गठनका लागी ६ जना सांसदहरु रहेको प्रमुख प्रतिपक्ष दल कांग्रेस निर्णायक हुने देखिएको छ । कांग्रेसलाई साथमा लिए दुवै पक्षले सरकार सञ्चालन गर्न सक्नेछन् ।

तपाईंको बिचार