Thursday, January 21, 2021

सरकारमा रहेर पैसा आर्जन गर्नु मेरो उद्देश्य होइनः पर्यटन मन्त्री ढकाल

प्रकाशित मिति: 2020/12/27

पुस १२, काठमाण्डौ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले सरकारमा रहेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु आफ्नो उद्देश्य नभएको बताएका छन् । 

आइतबार मन्त्रालयमा कार्यभार ग्रहण गरेपछि कर्मचारीहरुसँग कुरा गर्दै मन्त्री ढकालले स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्ने राजनीतिक उद्देश्य नराखेको बताएका हुन् । आफूले सकेसम्म सेवामा समर्पित गर्दै सुनाम कमाउने मात्रै उद्देश्य राखेको मन्त्री ढकालले बताउनुभयो ।  
राज्यलाई दोहन गरेर राज्यबाट के पाउँछु भन्दापनि राज्यलाई समृद्ध बनाउनतर्फ सबैले सोच्नुपर्ने पनि मन्त्री ढकालले बताए । उनले भने, ‘राज्य दोहन गरेर राज्यबाट मैले के पाउँछु भन्ने कुरा भन्दा पनि राज्यलाई समृद्ध बनाउने कुरामा मेरो योगदान के हुन सक्छ र त्यो संस्थाको उपयोगिता कसरी हुन्छ भन्ने कुरामा अलि बृहत भएर सोचौँ । पर्यटन मन्त्रालयको इतिहासलाई हेर्दा गर्व गर्ने ठाउँ रहेको तर त्यस भित्रका बदानमीहरुले राम्रो नगरेको पनि मन्त्री ढकालले बताए । तारागाउँ समितिको पनि आफ्नै महत्त्व भएको तर त्यस भित्रको कथा बेग्लै भएकाले त्यसलाई सुधार गर्न आफूले अध्ययन थाल्ने पनि मन्त्री ढकालले बताए । मन्त्री ढकालले कर्मचारीलाई काम गर्न सहज वातावरण निर्माण गर्ने कुरामा आफुले सधैँ ध्यान दिने बताए ।

तपाईंको बिचार