Sunday, January 17, 2021

असन्तुष्ट राइडरले गरे पठाओको कार्यालयमा तोडफोड

प्रकाशित मिति: 2020/12/28

१३ पुस, काठमाडौं । राइड सेयरिङ एप पठाओका असन्तुष्ट चालकहरूले कम्पनीको कार्यालयमा तोडफोड गरेका छन् । आफूले अघि सारेको विभिन्न मागहरु पुरा नभएको भन्दै कार्यालय घेराउ गर्न गएका चालकहरुले कार्यालय तोडफोड गरेका हुन् ।

उनीहरु कमिसन घटाउन माग गर्दै अघिल्लो सोमबार कम्पनीलाई ज्ञापनपत्र दिएका थिए । अधिकतम ८ प्रतिशत मात्रै कमिसन लिन उनीहरुले कम्पनीलाई दबाव दिँदै आएका छन् । अहिले कम्पनीले यात्रुले तिर्ने भाडाबाट २० प्रतिशत कमिसन राख्ने गरेको छ । उनीहरुको मागपछि कम्पनीले राइडर र यात्रुको १ लाखसम्मको उपचार बिमा र मृत्यु भएका ५ लखाखको दुर्घटना बिमा पनि गर्ने घोषणा गरिसकेको छ । तर, कमिसन घटाउने लगायतका मागमा कम्पनी सहमत भएको छैन । पठाओले विभिन्न ११ बुँदाको मागमध्ये कतिपय माग पुरा गर्न नसक्ने बताएपछि कम्पनीमा केही राइडर वार्ताका लागि पुगेका थिए । त्यही समयमा बाहिरबाट केही व्यक्तिले कम्पनी रहेको भवनको झ्यालको सिसा फुटाएको बानेश्वर प्रहरीका प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतले बताए । त्यहाँ रहेका २६ जनालाई नियन्त्रणमा लिएर संलग्नहरुको स्क्रिनिङ भइरहेको उनले बताए । राइडरहरुले कारवाही स्वरुप निलम्बन गर्दा पहिल्यै जानकारी दिइनुपर्ने, कम्पनीको केयर सेन्टरको फोन टोल फ्रि हुनुपर्ने लगायतका माग पनि राखेका थिए ।

तपाईंको बिचार