Saturday, January 16, 2021

प्रचण्ड माधव पक्षसँग मिलेर सरकारमा जान्छौँ : बालकृष्ण खाँण

प्रकाशित मिति: 2020/12/29

१४ पुस, बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँणले नेकपाको प्रचण्ड नेपाल समूहसँग सहकार्य गर्ने बताएका छन् ।

संसद पुनस्र्थापना भएपछि ओली पक्षसँगभन्दा पुष्पकमल दाहाल प्रचण्ड माधवकुमार नेपाल पक्षसँग सरकारमा सहकार्य गर्न सकिने उनले बताए । प्रेस युनिय रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खाँणले भने, ‘संसद विघटनलाई असंवैधानिक भन्ने पक्षसँग नै हाम्रो सहकार्य हुन्छ ।’ पत्रकार सम्मेलनमा खाँणले प्रधानमन्त्री ओली सर्वसत्तावाद र अधिनायकवादको यात्रामा लागेकाले चुनाव नगराउने दाबी गरे ।  

प्रधानमन्त्री ओलीले कारोना वा अन्य कुनै कारण देखाएर संकटकाल लगाउन सक्ने खाँणले औंल्याए । प्रधानमन्त्री भएदेखि नै ओलीमा एकाधिकारवादी र निरंकुश ब्यवहार देखिएको भन्दै खाँणले प्रेस, मानव अधिकार, राष्ट्रिय सुरक्षा, व्यक्तिगत गोपनीयतालगायतका विषयमा अंकुश र नियन्त्रण गर्ने गरी विभिन्न विधेयक ल्याउनुको पछाडि प्रधानमन्त्री ओलीको अधिनायकवादी चिन्तनले काम गरेको खाँणले प्रष्ट पारे । संसद विघटन गर्ने प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक प्रस्तावलाई राष्ट्रपतिले विचारै नगरी स्वीकृत गर्नु विवादास्पद र अराजनीतिक काम भएको खांणले टिप्पणी गरे ।  

तपाईंको बिचार