Friday, January 22, 2021

प्रहरीको कपडा किन्दा ठगी आरोप लागेकालाई सशस्त्रले दियो चार करोडको ठेक्का

प्रकाशित मिति: 2020/12/29

पुस १४, काठमाण्डौ । नेपाल प्रहरीको पोशाक खरिदमा ठगी गरेको अभियोग लागेको कम्पनीलाई सशस्त्र प्रहरी बलले चार करोडको कपडा खरिदको ठेक्का दिएको छ ।
वीरगन्जस्थित क्राउन टेक्सटाइल्स इन्डस्ट्रिज प्रा.लि. लाई सशस्त्र प्रहरीले ३ करोड ९८ लाख ८८ हजार रुपैयाँ (मु.अ.कर बाहेक)को ठेक्कामा संलग्न गराएको हो ।
पुस १० गतेमात्र उक्त कम्पनीलाई सशस्त्र प्रहरी बलले कपडा खरिदका लागि छनोट गरेको हो ।
क्राउन टेक्सटाइल्सलाई २१ हजार मिटर उलन पाइन्ट र २८ हजार मिटर उलन सर्ट खरिदका लागि सशस्त्रले छनोट गरेको छ । सशस्त्र प्रहरीले ठेक्कामा संलग्न गराएको दुई दिनपछि क्राउनका सञ्चालक पिताम्बरकुमार मुन्का र प्रतिनिधि नरेन्द्रनाथ पौडेल पक्राउ परेका छन ।

नेपाल प्रहरीको उलन पाइन्ट कपडा खरिदमा अनियमितता गरेको अभियोगमा मुन्का र पौडेललाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । आइतबार उनीहरू पक्राउ परेपछि नेपाल प्रहरीको कपडा खरिदमा उक्त कम्पनीका सञ्चालकले गरेको अनियमितताबारे ब्युरोले जानकारी दिएको छ ।

यो अनियमितताको छानविन चलिरहेकै बेला क्राउनलाई सशस्त्र प्रहरी बलले ठेक्कामा सहभागी गराएपछि प्रक्रियामा ‘चलखेल’ भएको आशंका गरिएको छ ।

 
सशस्त्र प्रहरी मुख्यालयका स्रोतका अनुसार यो ठेक्कामा क्राउनमात्रै सहभागी भएको थियो । अन्य ठेकेदार कम्पनी गुणस्तर प्रतिस्पर्धामा आउनै सकेनन । त्यसैले, उसैलाई ठेक्का प¥यो ।

ब्युरोका अनुसार क्राउनले २०७३र०७४ सालमा नेपाल प्रहरीका लागि बीस हजार मिटर उलन पाइन्टको ठेक्का पाएको थियो ।उसले प्रतिमिटर १ हजार ८२ का दरले ल्याउनुपर्ने सम्झौता थियो ।

यो दुई करोड १६ लाख ६० हजार रुपैयाँ (करबाहेक)को ठेक्का थियो।

उक्त फर्म, प्रहरी प्रधान कार्यालय प्रबन्ध निर्देशनालयबीच सम्झौता भएपछि क्राउन टेक्सटाइल्सले कपडा खरिद ग¥यो।

कपडा खरिद गरिसकेपछि गुणस्तर परीक्षण गरियो। गुणस्तर परीक्षण गर्दा नमूनाअनुसारको कपडा नआएको प्रहरीले थाहा पायो।

नमूनाअनुसारको नआएपछि प्रहरीले कपडा स्वीकारेन। क्राउनले फिर्ता लैजान मानेन । उल्टै अदालतमा मुद्दा हाल्यो।

सर्वोच्च अदालतबाट प्रहरीको पक्षमा आदेश आयो। सर्वोच्चले क्राउनलाई रोहबरमा राखेर कपडाको गुणस्तर जाँच गर्न आदेश दियो। कम्पनीका प्रतिनिधि पौडेललाई रोहबरमा राखेर प्रहरीले गुणस्तर नमूना संकलन ग¥यो।

चेन्नईको एसजिएस ल्याबमा गुणस्तरको नमूना पठाइएको थियो। साउन ३० गते प्रहरीले नमूना संकलन पठाएको थियो। तर, क्राउनले साउन ३२ गते अर्को नमूना पठायो ।

दोस्रो नमूना पठाइएको इमेल सो ल्याबले प्रहरीलाई इमेलमार्फत् जानकारी दिएपछि प्रहरीले अनुसन्धान थाल्यो।

 
प्रहरी संगठनलाई नै जालसाजी गरी आफूलाई फाइदा पु¥याएको भन्दै ब्युरोले पक्राउ परेकालाई ठगी मुद्दामा अनुसन्धान थालेको छ । यो जालसाजीको रिपोर्ट सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाउने प्रहरीको तयारी छ । अर्को प्रहरी संगठनलाई ठगी गरेको कसुर झेलिरहेको कम्पनीबाटै सशस्त्रले अब कसरी कपडा ल्याउँछ भन्ने चासो उत्पन्न भएको छ ।

सशस्त्रको प्रबन्ध शाखाका अनुसार ठेक्का प्रतिस्पर्धाबाट छनोट भएको कम्पनीलाई कानुनी रूपमा सम्झौता भंग गर्न पाइँदैन । ‘सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको अवस्था छैन, त्यसैले यो ठेक्काबाट उसलाई विमुख गराउन सकिँदैन,’ प्रबन्ध शाखाका एक अधिकृतले भने ।

सशस्त्र प्रहरी प्रवक्ता डिआइजी राजु अर्यालले क्राउनसँगको ठेक्का स्वीकृतिबारे सार्वजनिक खरिद अनुगमन कार्यालयसँग परामर्श गरिने बताए ।

 

तपाईंको बिचार