Saturday, January 23, 2021

हिमालय एयरलाइन्समा फर्कियो चार्टर्ड जहाजमा आएको चिनियाँ टोली

प्रकाशित मिति: 2020/12/30

पुस १५, काठमाण्डौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीमा विभाजन देखिएपछि आएको चिनियाँ कम्युनिष्ट पार्टीको टोली स्वदेश फर्किएको छ । बुधबार बिहान पौने नौ बजे हिमालय एयरलाइन्सको नियमित उडानमा टोली फर्किएको स्रोतले जानकारी दिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वको चार सदस्यीय टोली आइतबार दिउँसो काठमाडौं ओर्लिएको थियो । काठमाडौं आउँदा टोली एयर चाइनाको चार्टर्ड विमानमा आएको थियो । उनीहरूले विमानस्थलबाट बाहिर निस्कँदा पनि पिपिई सेट लगाएका थिए । आइतबार काठमाडौं आएपछि नै चिनियाँ टोलीले राजनीतिक भेटघाट सुरू गरेको थियो ।  सुरूमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको टोलीले सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेको थियो । 

काठमाडौंमा रहँदा चिनियाँ टोलीले नेपाल कम्युनिष्ट पार्टी(प्रचण्ड नेपाल)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग पनि भेटघाट गरेको थियो । नेकपाका नेताहरूसँगको भेटमा चिनियाँ टोलीले अझै पनि कतै मिल्ने ठाउँ भए तपाईंहरू मिल्नुस् भन्ने सुझाव दिएको बताइएको छ ।

तपाईंको बिचार