Saturday, January 16, 2021

भीड थाम्न नसकेपछि संकटा क्षेत्रबाट छाता हटाइयो

प्रकाशित मिति: 2021/01/03

पुस १९, काठमाण्डौ । छोटो समयमा भाइरल भएको न्युरोड संकटा सडकमाथि राखिएको छाता हटाउन सुरू गरिएको छ । कोरोना महामारीपछि सुस्ताएको बजार चलायमान बनाउने भन्दै स्थानीय व्यापारी र संकटा क्लबले सडकमाथि रंगीचंगी छाता राखेर आकर्षण थपेको थियो । समाजिक संजालमा भाइरल भएको सडकमा दैनिक १५ हजार मान्छे घुम्न आउने गरेको संकटा क्लबले जानकारी दिएको छ । मुख्य व्यापारिक केन्द्र न्युरोडमा पछिल्लो दुई सातायता ट्राफिक व्यवस्थापन, सवारी आवागमनमा समेत समस्या परेको सचिव सिंहले बताए ।

’व्यापार बढाउनुभन्दा समस्या थपिएपछि सबै जना मिलेर बन्द गर्ने निष्कर्षमा पुग्यौं,’ उनले भने, ’अलिअलि व्यापार भइरहेको पसलमा पनि छाताकै भीडले ग्राहक आउन नसकेको हामीले बुझ्यौं।’

पुस ५ गतेदेखि संकटा सडकमा छाता राख्न सुरू गरिएको थियो। यहाँ डेढ सय मिटर सडकमाथि चार सय बढी छाता थिए । सिंहका अनुसार छातामा मात्र करिब तीन लाख खर्च भएको थियो । चाडपर्व वा मेलाजात्रामा फेरि छाता राख्नेबारे योजना बनाउने सिंहले बताए । शनिबार बेलुकादेखि छाता हटाउन सुरू गरिएको र आइतबारसम्म सबै हटाइने सिंहले जानकारी दिए ।

तपाईंको बिचार