Friday, January 22, 2021

त्रिपक्षीय सहकार्यलाई बढावा दिने लक्ष्यसहित चीनको श्वेतपत्र सार्वजनिक

प्रकाशित मिति: 2021/01/11

२७ पुस, काठमाडौं । त्रिपक्षीय विकास सहकार्यलाई बढावा दिने लक्ष्यसहित चीनले अन्तर्राष्ट्रिय विकास सहकार्य सम्बन्धी श्वेतपत्र सार्वजनिक गरेको छ । आइतवार सार्वजनिक गरिएको सो पेपरमा एक अर्काको नीति, विचार, मोडललाई सम्मान गर्दै पारस्परिक सम्मान र समझदारीको आधारमा यसलाई अगाडि बढाउने उल्लेख छ । नेपालमा पनि विगत एक दशकदेखि त्रिपक्षीय सहकार्यको बहस चलेपनि त्यो अगाडि बढ्न सकेको छैन । विशेषतः नेपालमा विकासका परियोजनाहरुमा नेपाल, भारत र चीनवीच त्रिपक्षीय सहकार्यको प्रस्ताव चीनले गर्दै आएको छ । तर, यसमा खासै प्रगती भएको छैन । त्रिपक्षीय सहकार्यसँग टु प्लस वान मोडल पनि चीनले सन् २०१८ मा सार्वजनिक गरेको छ । दक्षिण एसियामा यो मोडललाई अगाडी बढाउने चीनको जोड छ ।

त्रिपक्षीय सहकार्यबारे भनिएको छ, ‘त्रिपक्षीय सहकार्यको उद्देश्य सहयोग प्राप्त गर्ने मुलुकहरुलाई फाइदा दिनु हो । त्यसैले उनीहरुको सार्वभौमसत्ता र उनीहरुको आवाजलाई सम्मान गर्नुपर्छ र यसको सिद्धान्त भनेको सम्बन्धीत मुलुकले परियोजनाको प्रस्ताव गर्न पाउनुपर्छ र उनीहरुको सहमतिका साथै सम्बन्धीत मुलुकले नै नेतृत्व गर्नुपर्छ ।’

नेपालसहित दक्षिण एसियाली मुलुकमा सो मोडलमा गएमा सार्वभौमसत्तामा असर गर्ने र मुलुकहरुको निर्णय क्षमतामा असर गर्ने भनी बहस भइरहेको छ । त्रिपक्षीय सहकार्यलाई अगाडि बढाउनको लागि लगातार वार्ता, संवाद र आदान प्रदानको आवश्यकता रहेको समेत सो नीतिमा उल्लेख छ । सो ह्वाइट पेपरमा चीनले अमेरिका, बेलायत लगायतका विभिन्न मुलुकसँग त्रिपक्षीय विषयमा सहकार्य गरेको उल्लेख गरेको छ ।

सो पेपरमा त्रिपक्षीय सहकार्यको विषयमा चीनले विभिन्न अन्तर्राष्ट्रिय निकाय र दातृ निकायहरुसँग कुराकानी गरिरहेको समेत उल्लेख छ ।

चीनको विकास सहकार्य सम्बन्धी ह्वाइट पेपरमा मुलुकहरुको आकार सानो वा ठूलो, धनी वा गरिव भएपनि अन्तर्राष्ट्रिय समुदायमा उनीहरु समान हुने उल्लेख छ ।

 

तपाईंको बिचार