Thursday, January 28, 2021

कांग्रेसमा महाधिवेशनका प्राविधिक विषयमाथि सहमति जुटाउने प्रयास

प्रकाशित मिति: 2021/01/12

पुस २८, काठमाण्डौ । नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि प्राविधिक विषयहरूमा छलफल गरी सहमति जुटाउने प्रयास गरेको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काबीच क्रियाशील सदस्यतालगायत विषयमा कसरी अगाडि जाने भन्नेमा छलफल भइरहेको हो । कांग्रेसले फागुन ७ देखि महाधिवेशन गर्ने कार्यतालिका ल्याएको थियो । तर अब यसअनुसार महाधिवेशन हुने सम्भावना कम हुँदै गइरहेको छ । नयाँ मिति तय भइसकेको छैन । देशैभर क्रियाशील सदस्यता वितरण सकेपछि मात्रै नयाँ कार्यतालिका बनाउने पक्षमा पौडेल पक्ष छ । अहिलेसम्म अर्घाखाँची जिल्ला कार्यसमितिले मात्रै क्रियाशील सदस्यता टुंग्याएर केन्द्रमा नामावलीको सूची बुझाएको छ । कतिपय जिल्लामा समायोजनकै काम बाँकी छन । विजयकुमार गच्छदार र सुनिलबहादुर थापासँगै कांग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई क्रियाशील सदस्यता दिँदाका मापदण्डजस्ता प्राविधिक विषयमा सहमति जुटाउने प्रयास अहिले भइरहेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार सोमबार छलफल भए पनि यसबारे सहमति भइसकेको छैन । मंगलबार पनि यसबारेमा छलफल जारी रहनेछ । क्रियाशील सदस्यता पाएको कति वर्षपछि पार्टीका विभिन्न पदमा उम्मेदवार हुन पाउनेजस्ता प्राविधिक विषय कांग्रेसमा टुंग्याउन बाँकी छ । यो अन्य पार्टीबाट प्रवेश गरेकाहरूको हकमा हो । अरूलाई भने विधानमै यसबारे प्रष्ट व्यवस्था छ ।

तपाईंको बिचार