Friday, January 22, 2021

जनताको ध्यान भड्काउन ओलीले चुनाब घोषणा गरे : उपेन्द्र यादब

प्रकाशित मिति: 2021/01/12

२८ पुस, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मध्यावधि निर्वाचनको घोषणा जनताको ध्यान भड्काउन फालिएको तुरुप भएको बताएका छन् ।

वीरगञ्जमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘निर्वाचनको घोषणा गरिसकेपछि सरकार काम चलाउ हुन्छ, तर प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कामचलाउ ठान्नु भएको छैन, सरकार विस्तार गर्नुभएको छ । निर्वाचनको नाममा एउटा तुरुप मात्रै फाल्या हो, निर्वाचनतिर सबैको ध्यान जान्छ, आफूले चालेको असंवैधानिक कार्य, गैरलोकतान्त्रिक कार्य अघि बढाउन सकिन्छ भनेर मात्रै हो । उहाँको नेतृत्वमा हुने चुनावको विश्वसनीयता र निष्पक्षता पनि सम्भव छैन ।’

 


प्रधानमन्त्रीको साथमा प्रतिगमनकारी शक्तिहरु, संघीयता र लोकतन्त्र विरोधी शक्तिहरुको अघोषित संयुक्त मोर्चा रहेको दाबी उनले गरे ।

‘यही बेलामा पुराना शक्तिहरु, निरंकुशकालीन शक्तिहरु मौकामा चौका हान्न पाइन्छ कि भनेर उफ्री रहेका छन्,’ उनले भने, ‘नेपाली जनता २०१७ सालको अवस्थामा हैन, २०७७ सालमा छन् । चेतना र लोकतान्त्रिक भावनाबाट ओतप्रोत छन् । निश्चितरुपमा कमी कमजोरी अरुमा पनि हुन सक्छ । त्यसको मतलब लोकतन्त्रलाई समाप्त पारेर निरंकुश तन्त्र ल्याउने हैन ।’

राजनीतिक समस्याको समाधान न्यायलयले गर्न नसक्ने उनको भनाइ छ । प्रधानमन्त्रीको सिफारिसमा भएको असंवैधानिक कदमलाई सच्याउनु नै तत्कालिन समस्याको समाधान भएको उनको तर्क छ । सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको कदमलाई नै सदर ग¥यो भने के गर्नुहुुन्छ ? भन्ने पत्रकारको जिज्ञासमा उनले राजनीतिक समस्याको समाधान अदालतले गर्नै नसक्ने ठोकुवा गरे । ‘सर्वोच्च अदालतको सम्मान गर्छौं, तर राजनीतिक क्राइसिसको समाधान न्यायलयले दिन सक्दैन, पोलिटिक्सले नै दिन्छ । यो संकट कहाँबाट आयो ? लोकतन्त्र, संघीयताको विरुद्ध र पक्षका शक्तिबीचको द्वन्द न हो,’ उनले भने, ‘संघीय गणतन्त्रलाई खारेज गर्ने र मुलुकलाई पछाडि धकेल्ने गरी प्रधानमन्त्रीको राजनीतिक कदमले नै राजनीतिक संकटमा मुलकलाई धकेलेको छ । त्यसको समाधान राजनीतिक रुपमै हुनुपर्छ ।’

 

तपाईंको बिचार