Monday, March 8, 2021

निर्वाचन आयोगले सडक होइन, कानुन हेरेर निर्णय दिनुपर्छ : पूर्वप्रमुख आयुक्त श्रेष्ठ

प्रकाशित मिति: 2021/01/19

६ माघ, काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकताको विवाद निरुपणमा निर्वाचन आयोग प्रभावित हुन नहुने बताएका छन् । नेकपाको दुवै पक्षले आधिकारिकता दावी गरिरहेको अवस्थामा आयोग डर, धम्की र आन्दोलनबाट नडराई कानुन हेरेर विवाद निरुपण गर्नुपर्ने बताएका हुन् । पूर्वप्रमुख आयुक्त श्रेष्ठले निर्वाचन आयोगले निर्वाचनको तयारी भने गर्न सक्ने बताए । उनले संसद विघटनको मुद्दा अदालतमा विचाराधीन भए पनि निर्वाचनको तयारी गर्न आयोग रोकिनुनपर्ने धारणा राखे । निर्वाचन आयोगलाई चुनावको तयारी रोक भन्नु पनि उचित नहुने श्रेष्ठले बताए । श्रेष्ठले दल दर्ताको विषय भने आयोगलाई पेचिलो बन्ने देखिएको बताए । ‘सडकमा के हुन्छ, आयोगले सडकलाई किन हेर्ने ? आयोगले ऐन नियम कानून हेर्ने हो । तर सडकमा उत्रिएका राजनैतिक दलको नेतृत्व धेरै नै जवाफदेही बन्नुपर्ने छ’ उनले भने ।

नेपालका राजनीतिक दलहरुमा राजनीतिक संस्कार विकास हुन नसक्दा समस्या भएको उनले बताए । ‘राजनैतिक दल भित्र शक्ति हस्तान्तरण गर्ने, नयाँ पुस्तालाई स्थान दिने कुरा गौण भयो । यसले लोकतन्त्रको विकासमा बाधा पुगेको छ । यसैको कारण राजनैतिक संस्कारको विकास हुन सकेन’ उनले भने ।

तपाईंको बिचार