Tuesday, March 9, 2021

प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड माधव समूहद्वारा माइतीघरमा धर्ना

प्रकाशित मिति: 2021/01/27

१४ माघ, काठमाडौं । नेकपा प्रचण्ड माधव समूहले माइतीघर मण्डलामा धर्ना दिएको छ । नेकपा प्रचण्ड–माधव समूहका विघटित प्रतिनिधिसभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यहरुले प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार माइतीघर मण्डलामा धर्ना कार्यक्रम गरेका हुन् । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ पम्फा भुसालले असंवैधानिक रुपमा संसद विघटन गरी देशलाई प्रतिगमनतर्फ फर्काउने उल्टो कदम सच्याउन दबाव दिने उदेश्यले धर्ना बसेको बताइन् । संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाको निम्ति धर्ना बसेको उनको भनाइ छ । धर्नामा बसेका अर्का नेता हरिबोल गजुरेलले जनताले आफ्नो प्रतिनिधिमार्फत बनाएको संविधानमाथि हस्तक्षेप भएको हुँदा आमजनता धर्नामा बस्नुपर्ने अवस्था आएको बताए । संविधानको रक्षा गर्न र जनतालाई संविधानको रक्षाको निम्ति आउने विश्वासका साथ धर्नामा बसेको उनको भनाइ छ ।

नेकपा प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनको विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । संसद विघटनको विरोधमा शनिबारबाहेक माघ २१ गतेसम्म प्रत्येक दिन २ घण्टा धर्ना बस्ने कार्यक्रम रहेको सो समूहले जनाएको  छ ।

तपाईंको बिचार