Monday, March 8, 2021

जनकपुर जयनगर रेल चलाउन रेल्वे अध्यादेश ल्याइँदै

प्रकाशित मिति: 2021/02/23

११ फागुन, काठमाडौं । सीमापार जयनगर(कुर्था (जनकपुर) रेलमार्ग सञ्चालनका लागि सरकारले रेल्वे अध्यादेश ल्याउने भएको छ । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आवश्यक तयारी अघि बढाएको छ ।

पछिल्ला दिनमा उद्घाटन र शिलान्यासमा केन्द्रित भएको सरकारले साढे ५ महिनादेखि जनकपुरमा थन्किएको रेल पनि उद्घाटन गरिहाल्ने योजना अनुरुप अध्यादेश नै ल्याउने तयारी गरेको हो । धनुषाको इर्नवामा ल्याएर राखिएको रेल चलाउनका लागि कानून अत्यावश्यक भएकाले अध्यादेश ल्याउन छलफल सुरु भएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक भट्टराईले बताए । सरकारले संसदमा रेल्वे विधेयक लगेपनि पास भएको छैन । संसद विघटन भएकाले तत्कालै सो विधेयक पास हुने सम्भावना नभएकाले अध्यादेश ल्याएर रेल चलाउने वातावरण तयार गर्न लागिएको प्रवक्ता भट्टराईले बताए । अध्यादेश ल्याउन सरकारले धेरै ढिलाइ नगर्ने उनले बताए ।

सरकारले संसदमा गएको विधेयकमा नै समान्य हेरफेर गरेर रेल्वे अध्यादेश ल्याउने तायरी गरेको छ । विधेयकमा नेपाल सरकारले एक वा एक भन्दा बढी विदेशी राष्ट्रको भूमिसम्म वा विदेशी राष्ट्रले नेपालको भूमिसम्म वा नेपालको भूमि भएर अर्को विदेशी राष्ट्रमा जाने गरी रेल्वे सेवा सञ्चालन गर्ने वा गराउने सम्बन्धमा पारस्पारिकताको आधारमा आवश्यक व्यवस्था गर्न सक्ने उल्लेख थियो । नेपालमा रेल सेवा सञ्चालनको मुख्य जिम्मेवारी रेल्वे बोर्डको रहने विधेयकमा प्रस्ताव थियो । सरकारले मात्र रेलवे सञ्चालन गर्ने विधेयकमा उल्लेख थियो । विधेयकमा रेल, मेट्रो रेल, मोनोरेलको विकास तथा विस्तारका आवश्यक संरचना, बोर्ड र कार्यकारी समिति गठनलगायतका विषय समेटिएका थिए । प्रस्तावित विधेयकमा रेलभित्र के गर्न हुने वा नहुने ? रेल चालक र सहचालकले अनुमति लिनुपर्ने लगायतका विषय थिए । रेल चालक प्लस टु पास गरेको र उमेर २५ बर्ष पूरा भएको हुनुपर्ने, सहचालकले पनि प्लस टु पास गरेको र २० बर्ष उमेर पूरा गरेको हुनुपर्ने र चालक हुनका लागि कम्तीमा पाँच वर्ष काम गरेको अनुभव पनि चाहिने प्रस्ताव गरिएको थियो । रेल चालकले अनुमतिपत्र लिएर मात्र रेल चलाउनुपर्ने व्यवस्था समेत प्रस्ताव गरिएको थियो । अब यही विधेयकको मस्यौदालाई अध्यादेशका रुपमा जारी गर्ने तयारी छ । मन्त्रालयले मस्यौदा तयार गरेर पठाएपछि मन्त्रिपरिषदले पारित गरि राष्ट्रपतिमार्फत अध्यादेश जारी गरिन्छ ।

 

तपाईंको बिचार