Thursday, April 22, 2021

निजामति प्रशासन परिणामभन्दा प्रक्रियामा केन्द्रित : उपप्रधानमन्त्री पोखरेल

प्रकाशित मिति: 2021/04/07

२५ चैत, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामति प्रशासन ‘झिङ्गे टसाई’ सोचबाट मुक्त हुन नसकेको टिप्पणी गरेका छन् । बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरुबीच निजामति सेवाका विभिन्न पक्षसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निजामति प्रशासनमा ‘झिङ्गे टसाई’ सोच प्रमुख समस्याको रुपमा रहेको बताए । समयको गतिसँगै निजामति प्रशासन परिवर्तन हुन नसकेको उनको भनाइ छ । पोखरेलले निजामति प्रशासनले परिणामलाई भन्दापनि प्रक्रियालाई जोड दिने गरेको टिप्पणी गरे । उपप्रधानमन्त्री पोखरेलले कर्मचारीतन्त्र आफैंमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास जित्न नसकेको पनि बताए । ढिलासुस्ती, भ्रष्टाचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सने लगायतका प्रवृत्तिका कारण पनि कर्मचारीतन्त्रमाथि प्रश्न उठ्ने गरेको उनको भनाइ छ । शासन प्रणालीलाई सुदृढ र सबल बनाउने मूल जिम्मेवारी निजामति प्रशासनको काँधमा भएकाले यसलाई सक्षम र नागरिकमैत्री कार्यशैलीबाट लोकप्रिय बनाउन आवश्यक रहेको पनि उपप्रधानमन्त्री पोखरेलले बताए ।

तपाईंको बिचार