Wednesday, December 1, 2021

कैलालीमा बाढीले १३८ घर डुबानमा, दुईजना घाइते

प्रकाशित मिति: 2021/08/27

११ भदौ, धनगढी । लगातारका वर्षापछि कैलालीको पथरैया नदीमा आएको बाढी बस्तीमा पस्दा १ सय ३८ घर डुबानमा परेका छन् । पुर्वी कैलालीमा पर्ने जानकी गाउँपालिका–४ र ७ का एक सय ३८ घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनका अनुसार वडा नम्बर–४ का ८० र वडा नम्बर–७ का ५८ घर डुबानमा परेका हुन् । डुबानमा परेका घरभित्र रहेका नागरिकलाई सुरक्षित स्थानतर्फ सार्ने कामका लागि सशस्त्र प्रहरीको टोली उद्दारमा खटिएको जोशीले बताए । कर्णाली नदीको बहावले टीकापुर नगरपालिका–५ को शाहीपुर क्षेत्रमा कटान गर्न थालेपछि तटीय क्षेत्रका बासिन्दालाई सजग रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । नदीले कटान गरिरहेको क्षेत्रमा थप कटान गर्न नदिन तटबन्ध गर्ने काम समेत भइरहेको छ ।

अविरल वर्षासँगै आएको पहिरोले घर पुरिदा लम्कीचुहा नगरपालिकामा दुईजना घाइते भएका छन् । लम्कीचुहा नगरपालिका–३ बल्चौरमा बिहीबार राति घरमाथिबाट खसेर पहिरोले ७५ वर्षीय गोपाल चौधरी र उनकी श्रीमती ७२ वर्षीय गौरी चौधरी घाइते भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । घाइते दुवै जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । यस्तै अविरल वर्षापछि गोदावरी नदीले कटान गरेर गोदावरी नगरपालिका–४ रहेको काठे पुले र ४२ वर्षीय गणेशदत्त पाण्डेको टीनले छाएको एक कोठे किराना पसल र प्रतिक्षालय बगाएको छ । गोदावरी नगरपालिका–१२ हलौडेमा स्थानीय मानबहादुर धामीले ५–६ कठ्ठामा लगाएको धानबाली नष्ट गरेको छ ।

तपाईंको बिचार