Wednesday, December 1, 2021

गण्डकी प्रदेशसभामा ओली गुट बलियो

प्रकाशित मिति: 2021/09/06

भदौ २१, काठमाण्डौ । नेकपा एमाले विभाजन भएसँगै ६ वटा प्रदेशसभामा धेरथोर एमालेका सांसदहरु नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका छन् । तर गण्डकी प्रदेशसभामा भने एमाले विभाजनको असर अहिलेसम्म देखिएको छैन । एमाले विभाजनपछि प्रदेश २ का १३ एमाले सांसद, सुदूरपश्चिम प्रदेशका १३ र बागमती प्रदेशका १३ एमाले सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । यस्तै, प्रदेश १ का १० सांसद, कर्णालीका ३ र लुम्बिनी प्रदेशका एक एमाले प्रदेशसभा सदस्य नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका छन् ।

गण्डकी प्रदेशको प्रदेशसभामा भने एमाले विभाजनको असर देखिएको छैन । गण्डकी प्रदेशमा एमालेका २७ मध्ये सबै सांसद एमालेमै रहने देखिएका छन् ।


एमालेमा अन्तरद्वन्द्व चलिरहँदा माधवकुमार नेपाल पक्षका भनिएका इन्द्रलाल सापकोटा पार्टी विभाजन भइसकेपछि एमालेमै रहे । उनी नवगठित दल नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल हुन्छन् कि भन्ने आशंका बढिरहेको अवस्थामा उनले आफू एमालेमै रहने प्रस्ट पारेका छन् । गण्डकी प्रदेशसभामा रहेका एमालेका अन्य सांसदहरु यसअघि नै पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग निकट मानिन्छन् । त्यसैले गण्डकी प्रदेशसभाबाट एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल हुने सांसदको अवस्था शून्य नै रहने देखिन्छ ।
नेकपा एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सदस्य दिलु पन्त गण्डकी प्रदेशसभाका एमाले सांसदहरु नयाँ दलमा सामेल नहुनुलाई केपी शर्मा ओलीले गरेको गुटबन्दीको परिणामका रुपमा व्याख्या गर्छिन् ।
फरक विचार बोक्ने व्यक्तिलाई छानीछानी उम्मेदवार बन्नबाट वञ्चित गरिएका कारण गण्डकी प्रदेशसभामा एमालेबाट विजयी भएकाहरु ओली पक्षकै मात्र रहेको उनले बताइन् । यस्तो अवस्थामा स्वाभाविक रुपमा ओली पक्षलाई छाडेर नयाँ दलमा सामेल हुने सांसद देखा नपरेको उनको भनाइ छ ।

तपाईंको बिचार