Wednesday, December 1, 2021

दैलेखमा ग्यास र पेट्रोल खानी रहेको चिनियाँ अध्ययनको निष्कर्ष

प्रकाशित मिति: 2021/09/09

भदौ २४, काठमाण्डौ । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो । चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा यहाँ ग्यास र पेट्रोल भएको पुष्टि गरेको बताइएको छ । चिनियाँ टोलीले प्रतिवेदन पठाएपछि उत्खननका लागि थप प्रक्रिया अघि बढाइएको विभागका भूगर्भविद् डाक्टर सुधीर रजौरेले बताए । कोरोना भाइरस सङ्क्रमणको कारण देखाउँदै विज्ञ तथा प्राविधिकको टोलीलाई चीन सरकारले आउने अनुमति दिएको छैन। अहिले विज्ञ टोली चीनको प्राकृतिक स्रोत मन्त्रालयको अनुमति कुरेर बसेको उनको भनाइ छ ।
दैलेखका विभिन्न ठाउँमा २०७६ असोजदेखि अन्वेषणको काम सुरु गरिएको थियो । विभागले श्रीस्थान, पादुका, कोटिला, दैलेख बजार तथा कर्णाली राजमार्ग आसपासका क्षेत्रमा ड्रिलिङको काम सकिएको जनाएको छ ।

करिब १० वर्षअघि पनि दैलेखमा बलेको ग्यासकै कारण नेपालको कुनै भू–भागमा पेट्रोलियम पदार्थ हुनसक्छ भन्दै केही अन्तर्राष्ट्रिय कम्पनीले नेपालका विभिन्न १० वटा जिल्लामा अन्वेषण सुरू गरेका थिए । विभिन्न कारणले अन्वेषणका काम हुन नसकेपछि सरकारले सम्झौता रद्द गरेर चीनसँग नयाँ सम्झौता गरेको थियो । तत्कालीन समयमा ७२ लाख बढी अमेरिकी डलर खर्च गरिएको खानी तथा भूगर्भ विभागको तत्थ्याङ्कमा उल्लेख छ ।

चार हजार मिटर ड्रिलिङ हुने
अन्वेषणको अन्तिम चरणमा जमिनमुनि चार हजार ५०० मिटर गहिरो ड्रिलिङ गरिने भएको छ। विभागले दिएको जानकारीअनुसार यही ड्रिलिङपछि मात्र कति परिमाणमा ग्यास वा पेट्रोल छ भनेर थाहा हुनेछ। यो काम पहिलो सर्भे गरिएको कुनै स्थानभित्र हुनसक्छ, अहिले स्थान भन्न मिल्दैन खानी तथा भूगर्भ विभागले जनाएको छ । अन्वेषणको पछिल्लो प्रतिवेदनलाई आधार मान्ने हो भने दैलेखको कुनै भूभागभित्र ग्यास वा पेट्रोल छ भनेर सहजै अनुमान गर्न सकिने देखिएको हो । नेपाल र चीन सरकारले भने पेट्रोलियम पदार्थको उत्खननका लागि सन् २०१७ मा सम्झौता गरेको थियो। सोहीअनुसार विभिन्न चरणमा काम सुरु भइरहेका छन । विभागका अनुसार काम सुरु भइरहेकै बेलामा कोरोना सङ्क्रमणको दर बढेपछि केही समस्या भएको छ। अन्तिम सर्वेक्षणका लागि प्राविधिक टोली र आवश्यक उपकरण ल्याउन समयमै सकिएको भए अहिलेसम्म अन्तिम नतिजा पनि आइसक्थ्यो । कोभिड सङ्क्रमणकै कारण झण्डै १८ महिना अन्वेषणको काममा ढिलाइ भएको छ ।

 

तपाईंको बिचार