इतिहासमा धन्न हाम्रा पुर्खाका पाखुराले बलिदान दिएको थियो र आज हामी सार्वभौम देशका नागरिक भनी गौरव गर्नसक्दछौं, प्रकृतिमा धन्न हाम्रै भूगोलमा उच्च शिखर ठडियो र हामी संसारमाझ विश्वकै अग्लो शिर भएको देशका नागरिक भनी गौरव गर्नसक्दछौं, धन्न सीमांकनमा लुम्बिनी नेपालमै परेकाले गौतम बुद्धको नाममा हामी गौरव गर्दछौं । हामीसँग गौरवका अरु पनि उचाइहरु छन्, तर जति छन् धेरैचाहिँ प्राकृतिक वा विरासतमा प्राप्त उचाइहरु छन् । खासमा पछिल्लो शताब्दियताका नेपालीले संसारमाझ गौरवको मौलिक पहिचान निर्माण गर्न नसकेका आरोप सही हुनजान्छ । र, विषय के पनि हो भने हामीलाई विरासतमा वा प्रकृतिमा जेजे प्राप्त भयो त्यसको पनि हामीले खास सम्मान गर्नसकेनौं भन्ने आरोप हाम्रै लागि जायज छ । जस्तोः नालापानी युद्धको गौरव । मूलरुपमा हामीले त्यो किल्ला छाडेर हिँडेका भए पनि त्यस युद्धभित्रको अदम्य साहस र गौरवलायक हाम्रो पुख्र्यौली स्वाभिमानलाई हामीले बिर्सिनुहुन्थेन । ठीक दुई सय वर्ष बितेर गएको छ तर हामीलाई थाहा छैन यो देशको कुनै पनि सरकारले नालापानी युद्धको स्मरणमा कुनै खास र नियमित सम्मान र सम्झना गरेको होस् । तर, त्यो भुल्नै नसक्ने नेपालीजन स्वाभिमानको गौरवखातिर नागरिकस्तरबाट सम्झिइरहेका छन् नालापानी र यसमा पोखिएको नेपाली रगत । यसपटक नालापानी युद्धको द्विशताब्दी पुगेको अवसरबीच नालापानी किल्लामै र नेपालको बर्दिया जिल्लामा स्वाभिमान दिवस मनाइएको छ ।
ठीक दुई सय वर्षअगाडिको त्यो दिन एक सार्वभौम नेपालले बिर्सिनै नसक्ने दिन अंग्रेजी तिथिअनुसार सन् १८१४ नोभेम्बर ३१, जुन दिनलाई सम्झिएर नेपालको बर्दिया जिल्लामा स्वाभिमान दिवस मनाइएको छ र नालापानी किल्लामा पुगेर पनि नेपालीहरुले यो दिनको खास स्मरण गरेका छन् । खासमा राष्ट्रले सम्झिनुपर्ने त्यो दिनलाई नागरिकस्तरबाट बर्दियामा खास सम्मानपूर्वक मनाइयो र तपाईको स्मरणका लागि यो त्यो दिन हो, जुन दिन नेपाली, गोर्खाली फौजले नालापानी किल्लाको युद्धमा अन्तिम दिन ब्यहोरेको थियो । महिनादिनसम्म चलेको यो लडाइँमा अङ्गेज सेनानायक जेलेस्पीले आफु मातहतका ३ हजार पाँच सयभन्दा बढी योद्धा र आधुनिक हतियारको प्रयोग गरेका भए पनि नेपालका सेनापति अमरसिंह थापाले देहरादूनको रक्षार्थ कप्तान बलभद्र कुँवरलाई खटाएकामा वीर बलभद्रले अन्तिम पलसम्म नेपालीको अदम्य साहस प्रदर्शन गरेका थिए । जतिबेला नालापानीको सबैभन्दा अग्लो थुम्कोमा पर्ने खलङगा किल्लामा आफ्ना सिपाही, महिला तथा केटाकेटी गरी करिब ६ सय योद्धाका साथ बलभद्र कुँवर युद्धरत थिए । र, नेपाली फौज केही तोप, भरुवा बन्दुक, ढुङगामुढा खुकुरी धनुष, भालाजस्ता हतियार बोकेर लडेको थियो । गोर्खालीको पराक्रमबीच पहिलो प्रहरमा गोर्खालीसँग अंग्रेजहरुले हार खाएका थिए । पहिलो चरणमा अंग्रेज फौजका लेफ्टिनेन्ट एलिससहित धेरै जवान मारिएका थिए । त्यसपछिको दोस्रो आक्रमणमा अंग्रेजले नेपाली किल्लाभित्र गइरहेको पिउने पानीको मुहान थुनिदिएका थिए र पनि नेपालीले पानीसमेत नपिएर धेरै दिन युद्ध लडेका थिए । त्यस्तो दर्दनाक परिस्थितिबीच पानी पनि नपिई युद्ध लडेका गोर्खाली फौजमा जीवित रहेका बाँकी योद्धाहरुको हितका लागि बलभद्रले यसै दिन किल्ला छाड्नुपरेको थियो । जुन दिनलाई बर्दियाका मानिसहरुले स्वाभिमान दिवसका रुपमा राष्ट्रले नै मनाउनुपर्ने दबाबका साथ यस वर्ष खास रुपमा मनाएका छन् । र, मनाए नालापानी पुगेर पनि नागरिकहरुले ।
अंग्रेजी तिथिअनुसार सन् १८१४ नोभेम्बर ३१, यस दिन युद्धको अन्त्यतिर बलभद्रले युद्धमा बचेका ७० जना योद्धाहरुलाई लिएर किल्ला त्याग गरेका थिए । त्यसपछि मात्रै अंग्रेजहरुको पाइला खलङगा किल्लासम्म पुग्न सकेको थियो । जुन दिन नेपाली मितिअनुसार मंसिर १७ गते द्वादशी परेको थियो र यो दिनलाई नेपालीहरुले आत्मसमर्पण नगरी र युद्धमा हार स्वीकार नगरी अंग्रेजसामु नझुकेको दिनका रुपमा लिएर स्वाभिमान दिवसका रुपमा मनाएका हुन् । नेपाली वीर बलभद्र कुँवरले ठीक दुई सय वर्षअघि नेपालको रक्षार्थ प्रस्तुत गरेका अदम्य साहस र पराक्रमको
तथ्यमा प्रस्तुत छौं हामी र यसदिनलाई सरकारले भुले पनि नागरिकले गौरव गरेर स्वाभिमान दिवस मनाएबारेको सन्दर्भमा छौं हामी । जुन युद्धमा नेपालीहरुको पराक्रम र बहादुरीको प्रशंसा गर्दै अंग्रेजहरुले एक युद्धस्मारकको स्थापना गरेका थिए । र, स्मारकको शिलालेखमा लेखिएको छ । हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोरखाहरुको स्मृतिमा सम्मानोपहार । यो त्यस्तो युद्ध थियो जहा वैरीहरु नै चकित परेका थिए । संसारको मानचित्रमा नेपाल यस्तो देश हो जसको इतिहासमा पुर्खाको बाहेक रगत बगेको छैन । यस्तो देश कसैको दासत्व स्वीकार्य भएन र पुर्खाले आफ्नो रगत बगाएर जोगाएको देश हो यो । अझ वैरीले नै हाम्रो तागत र पराक्रमको सम्मान गरेका पुर्खाका सन्तान हामी । यस्तो देशमा यहाँको सरकारले ती दिनहरुलाई भुल्नै हुन्नथ्यो । आज दुई सय वर्षपछि पनि नागरिक यो भुल्न तयार छैनन् र उनीहरुले बर्दियामा मनाए स्वाभिमान दिवस । हामी भन्छौं, आजको यो भूगोलमा वैरीका पाइला पर्न नदिइ हामीलाई सार्वभौम देशका नागरिक बनाई जोगाएका ती वीर गोर्खाली नेपाली बहादुरको सम्मान र सम्झनामा राष्ट्रले दुईटा थुंगा फूल भए पनि चढाउने संस्कार सिकोस् । नागरिक त यो सम्झिरहेका छन् यो सम्झिने र कदर गर्ने सरकार होस् हाम्रो देशमा ।
(बानिया न्यूज २४ टेलिभिजनका समाचार संयोजक हुनुहुन्छ ।)
तपाईंको बिचार