Wednesday, December 1, 2021

प्रजातान्त्रिक आन्दोलनका अनवरत सिपाही : तुलसी नारायण खमु श्रेष्ठ

प्रकाशित मिति: 2021/01/01

पुस १७, काठमाण्डौ । नेपाली कांग्रेसका पुराना नेता हुन तुलसी नारायण खमु श्रेष्ठ । पिता तुलसीदास खमु र माता तुईलमाया छुँ खमु श्रेष्ठका माईला सुपुत्रका रुपमा बि.स. १९९६ जेष्ठ १० गते काठमाण्डौको सानो गौचरणमा जन्मिएका हुन उनी । श्रेष्ठ परिवारका ३ छोरा र ३ छोरी मध्ये २ छोराका यसअघि नै स्वर्गवास भैसकेको छ । यस अर्थमा परिवारका उनी जेष्ठ सदस्यका रुपमा रहेका छन ।

जतिबेला उनि जन्मिए, उतिबेला नेपालमा राणा शासनको चरमउत्कर्ष थियो । बिद्यालय र शिक्षामा राणाहरुले बन्देज लगाएका थिए । यद्यपी प्राथमिक तहको अध्ययन उनले गुरुकुलबाटै ग्रहण गरे ।
राजनीतिक चेतना उनमा सानैदेखी थियो । १९९७ सालमा धर्मभक्त माथेमालाई राणाहरुले मृत्युदण्ड दिदै गर्दा उनी अकस्मात चिच्याएका थिए, भनेर उनकी आमा तुईलमायाले भन्ने गरेको उनी अझै सम्झन्छन । जतिबेला उनी जम्मा २० महिनाका थिए । 
राणा शासनको दमन बढ्दै गर्दा नेपालमा प्रजातान्त्रिक आन्दोलनको सुरुवात हुँदै गर्दा २००७ सालताका कुल बहादुर शाक्य जो कालेपुङबाट राणाबिरोधी आन्दोलनका लागि नेपाल आएका थिए, उनैबाट उनले पार्टी सदस्यता सोही बेला ग्रहण गरेका हुन । जतिबेला उनी ११ बर्षमात्रै थिए । राणाहरुले आफुनिकटकालाई सबै अवशर प्रदान गर्ने र अरु सामान्य नागरिकमाथि ज्यादतिको निति लिएका थिए ।
प्रजातन्त्रको माग राख्ने चार शहिदहरुको ज्यान लिने राणा सरकारप्रति उनकी आमाले बताउने गर्थिन ।  उतिबेलै उनकी आमालाई राणाहरुले आफ्नो धाईआमा बनाउनका लागि लिन आएका थिए, तर आमाले राणाहरुको प्रश्ताब अश्विकार गरिदिईन । जहिलेपनि राणा शासनको बिरुद्धमा आमाको आवाजलाई सुनेर हुर्किएका तुलसी नारायण  आमाकै  प्रेरणाले प्रजातान्त्रिक आन्दोलनमा होमिएको बताउँछन ।
उनीसँगको भलाकुसारीका लागि उनकै निवासमा पुग्दा निकै जोसिलो ढंगमा प्रश्तुत भएका तुलसीनारायणमा बिगत राजनीतिका बिपी कोईराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सँगका आफ्नै अनुभुति र सम्झनाहरु ज्युँदै छन ।
पात्र र चरित्रसँग नेपाली राजनीतिलाई नजिकबाट अनुभव गरेका श्रेष्ठसँग अहिलेका नयाँ पुस्ताका लागि अनेकौँ राजनीतिका प्रयोग र अनुभवका ठेलीहरु रहेका छन । जो श्रृंखलाबद्ध रुपमा अन्तरहृदयमा संक्रहित छन । त्यसैलाई खोल्ने प्रयास आउँदा दिनमा जारी नै रहनेछ ।
उबेला राणाबिरोधी अभियान सँगै कांग्रेसमा समाहित भएका तुलसी नारायणका आर्दश पुरुष हुन, स्वर्गीय गणेशमान । जसले कहिल्यै पदको लागि मरिहत्ते गरेनन । गणेशमानकै आर्दश पछ्याएका उनले पनि सोही बाटो हिडे । रत, बिपी, गणेशमानका बिरासतको सम्पूर्ण चर्चा गर्न सक्ने ज्यूँदो ईतिहास भएर पनि राजनीतिको पर्दा भन्दा पछाडी छ । हिजोका सुरुवाति यिनै योद्धाहरुले धुलोमैलो, राप ताप सहेर त, आजका नेतृत्वहरुले राजनीतिक व्यापार फस्टाउन पाएका छन । योद्धाहरुको हृदय फराकिलो भएकै कारणले होला, उनमा आफ्नो उबेलाको संघर्ष भन्दा बढि, बिपीले देखाएको बाटोमा पार्टी हिडोस, जनताले सुख पाउन भन्ने मात्रै चाहना रहेको हामीसँगको भलाकुसारीमा बताए ।
नेपाली राजनीतिका उनै ज्यूदो ईतिहास तुलसी नारायण खमु श्रेष्ठ सँग हालको नेपाली राजनीतिलाई चै कसरी हेर्नुभएको छ, भनी सोधेका थियौँ ।
१. बिपीले जुन उदेश्यका साथ कांग्रेस पार्टीको स्थापना गर्नुभएको थियो, अहिलेका नेतृत्वले त्यसलाई पछ्याउन सकेन भन्ने गुनासो खासगरी पुराना कार्यकर्तामा भेटिन्छ, तपाईलाई कस्तो लाग्छ ?
.........(बिपीमा निस्वार्थी भावना थियो, उहाँलाई त उबेलाकै सरकारले आजिबन प्रधानमन्त्री तपाई नै बन्नुस भन्दा पनि ईन्कार गर्नुभएको व्यक्ति हो । जनतालाई अहित हुने निर्णयलाई स्वीकार गरेर उहाँलाई प्रधानमन्त्री बन्नु नै थिएन । अब, उहाँसँग अहिलेका पार्टी सभापतिको के तुलना हुन सक्ने कुरै भएन । ४ चोटी प्रधानमन्त्री भईसक्नुभयो, उहाँले देश र जनताका लागि के गर्नुभयो, मैले त देखिन । त्यो भन्दा बढि मध्यावधि निर्वाचनको घोषणा गरेर शासनसत्ता राजाको हातमा लगेर सुम्पीदिनुभयो । राजाले असक्षम भनेर हटाएपछि पनि फेरी उनकै पछि लागेर हिड्नु नै गलत हो, त्यसपछि उहाँमा राजनीतिक चेत सहीमार्गमा रहेनछ जस्तो लाग्यो ।
२. अरुहरुले भन्ने गरेको जस्तै बिपीले देखाएको बाटोमा  अहिलेका नेतृत्व हिडेनन, भन्ने गुनासो हो ?
बाटो त फरक नै छ । यद्यपी यसलाई त्यसरी भन्दा पनि अहिलेका नेतृत्वले जनताका पिरमर्कालाई बुझेर काम गरुन न, अरु त के नै चाहियो र । कांग्रेस सच्चिनुपर्छ, यसमा सबैले मध्यमार्गी भुमिका खेल्नुपर्छ, भन्ने हो ।
३. तपाई यसो भन्नुहुन्छ, कांग्रेस पार्टी संगठनका हिसाबले एक भएको अनुभुति कार्यकर्ताले अझै गर्न पाएका छैनन । त्यसभित्र पनि देउवा र पौडेल खेमा भन्छन क्यार, तपाई चै कता ?
यो प्रश्न नै हुन सक्दैन । जसले राणा शासनको पालादेखी कांग्रेसमा संघर्ष गर्दै आएको छ, उसलाई खेमाको कुरा वास्ता हुने बिषय होईन । फेरी गुट उपगुट राजनीतिक फाईदा लिने स्वार्थी समुहहरुको लागि हो, म त राजनीतिक आस्थाको कुराको गरिरहेछु, अवशरको होईन । चारतारे झण्डा मेरो हृदयमा छ, अरुको थाहा भएन ।
४. अब अहिलेको सरकारको कुरा गरौँ, केपी ओलीको सरकार चै कस्तो ?
उनमा बोली छ, कार्य छैन । अहम र घमण्ड अलि बढि भएजस्तो लाग्छ । त्यसका तुलनामा सिपी र राधाकृष्ण केही नरम छन ।
५. अहिले सरकार बिघटन भएको छ, प्रचण्ड माधव एकातिर ओली अर्कोतिर भएका छन, यिनीहरुमा स्वभावगत हिसाबले के मुल्यांकन गर्नुभाछ ?
..... जोख्यो भने बराबरै होलान । प्रचण्ड आफुलाई सर्बहाराको नायक ढिँडो रोटी खाने बर्गको भन्थे, आलिसान जिबन व्यतित गरिरहेका छन । उनले के गरे भन्दा पनि जनतालाई भिडाउने मात्रै काम गरे, आफु राजा जस्तो भए । बिभेदको अन्तर झनै बढ्यो जस्तो लाग्छ ।
६. यि सबै राजनीतिक चित्र हेर्दा कहिलेकाँही लाग्दैन, बिपीको सपनामा बेकार अल्झिएछु ?
लाग्दैन । राजनीति पनि भावनाले मात्रै चल्ने कुरा हो । गणेशमानले राणाबिरोधी आन्दोलनमा दैनिक क्रुर यातना सहे । दैनिक ७ सय कोर्रा खाएर पनि माफी मागेनन, जबकी उनलाई राणा सरकारले मृत्युदण्ड दिन सक्थ्यो । उनीहरुकै पदचाप पछ्याउँदै हिडेको म स्वार्थी बन्न कहाँ सक्थेँ र । समय बित्दै जाँदा संगठनमा लोभिपापीहरु भरिए, होलान तर आजसम्म पनि म गलत बाटोमा हिडेँ भनेर पश्चताप गर्नु परेको छैन ।
७. तर उबेलाकै तपाईले आदर्श ठानेकै गणेशमान, कृष्णप्रसाद भट्टराई त निरास भएर पार्टी परित्याग गरे नी ?
......( केही छिनको सोचाईपछि..) यसमा उहाँहरुको निष्ठालाई पछिल्ला पिँढीले बुझ्न सकेनन, की जस्तो लाग्छ । हो, उहाँहरुको निष्ठामा कमी थिएन ।
८. पछिल्लो समय तपाई समाजसेवामा पनि सक्रिय हुनुहुन्छ, अघिल्लोचोटी नुवाकोट जानुभएको थियो, के थियो बिशेष ?
आफुले गर्दा कसैको भलो हुन्छ भने सक्नेजति गर्नुपर्दछ भन्ने मेरो बुझाई हो । यसैको सिलसिला स्वरुप नुवाकोट तारकेश्वर गाउँपालिका वडा नम्बर २ मा रहेको श्रीकृष्ण माबिको लागि प्रबिधीमैत्री बिकास गर्नको लागि ५ लाख ५ हजार, आधुनिक फोटोकपी मेसिनको लागि १ लाख ६० हजार, बिपन्न गरिब जेहान्दार बिद्यार्थीको शिक्षाको लागि २ लाख ५१ हजारको अक्षयकोष स्थापना गर्ने कार्यमा मेरो सहभागिता रह्यो । यसको संयोजनकारी भुमिका स्थानिय समाजसेवी रामहरी अधिकारी ज्यूले खेल्नुभएको थियो । आउने दिनमा पनि मेरो उपस्थीतिले केही राम्रो हुन सक्यो भने त्यो मेरा लागि खुसीकै कुरा हो ।

तपाईंको बिचार