Saturday, January 23, 2021

सभापति नसच्चिए कांग्रेसमा आन्दोलनको तयारी

प्रकाशित मिति: 2020/09/06

काठमाडौं, २१ भदौ । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा विधानविपरीत अगाडि बढेको निष्कर्ष सहित संस्थापन इतर समूह चरणवद्ध आन्दोलनको तयारीमा जुटेको छ । सभापति देउवाले पछिल्लो समय गठन गरेका पार्टीका केन्द्रीय विभागलगायत क्रियाशील सदस्यता वितरणमा गरेको हस्तक्षेप फिर्ताका लागि दबाब दिन इतर समूह चरणवद्ध आन्दोलनमा जाने तयारी गरेको हो ।

सभापति देउवाविरुद्ध गरिने चरणवद्ध आन्दोलनका लागि सहकार्य गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहसँग छलफल गरेको छ । दुबै समूहका नेताहरुको शनिबार सम्पन्न संयुक्त ‘भर्चुअल’ बैठकमा सभापति देउवालाई निर्णयहरु फिर्ता लिनका लागि दबाब दिन चालिने सम्भावित दबाबका कार्यक्रमहरुका बारेमा छलफल गरेका छन् ।


विधानविपरीत गरिएका भनिएका पछिल्ला निर्णयहरु फिर्ताका लागि सभापति देउवालाई दबाब दिन मौखिक र लिखित रुपमा ध्यानाकर्षणपत्र बुझाउनेदेखि आमरण अनशन बस्नेसम्मका दबाबमुलक कार्यक्रमबारे छलफल भएको छ । ती नेताले सभापति देउवालाई सात दिने अल्टिमेटमसहित ध्यानाकर्षण पत्र बुझाउने र अल्टिमेटम अवधिभित्र माग सम्बोधन नभए चरणवद्ध आन्दोलन अघि बढाउने विषयमा छलफल भएको बताएका छन् ।

‘भर्चुअल’ बैठकमा महामन्त्री डा. शशांक कोइरालाले सभापति देउवामाथि दबाब सिर्जन गर्नका लागि सम्भावित आन्दोलनका कार्यक्रमहरुको सूची पेस गरेका बताइएको छ । महामन्त्री कोइरालाले पेस गरेको आन्दोलनका कार्यक्रमहरु समावेश गरिएको प्रतिवेदन पौडेल समूहले गठन गरेको तीन सदस्यीय समितिले तयार गरेको स्रोतले जनाएका छ । उक्त समितिमा केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे, बद्री पाण्डे र जीवन परियार सदस्य रहेका छन् ।

तपाईंको बिचार