Friday, December 4, 2020

हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको सुविधा

प्रकाशित मिति: 2020/09/25

काठमाडौं, ९ असोज । सरकारले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ (आफ्नै भूमिस्थ सेवा) को अनुमतिपत्र दिएको छ । हालसम्म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ नेपाल एयरलाइन्सले गर्दै आएको छ । 

तर, नेपाल नागरिक उड्डयन प्राधिरकणले हिमालय एयरलाइन्सलाई आफ्ना विमानको आफैं ग्राउन्ड ह्यान्डलिङ गर्न अनुमति दिएको छ । हाल एयर इन्डिया र थाई एयरवेजबाहेक अरु एयरलाइन्सलाई यस्तो सुविधा छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार अब हिमालय एयरलाइन्सले आफूलाई आवश्यक पर्ने उपकरण र जनशक्ति ल्याएर आफैं ग्राउन्ड ह्यान्डलिङ गर्न सक्नेछ ।

अब आफ्ना विमान रोकिएपछि विमानबाट यात्रु ओराल्ने भर्‍याङ हाल्ने, बस लिएर जाने, यात्रुलाई टर्मिनलसम्म ल्याएर छोड्ने, उड्ने यात्रुलाई विमानसम्म पुर्‍याउने, विमानबाट ब्यागेज झार्ने, ब्यागेज बेल्टमा व्यवस्थापन गर्ने, टिकेटिङ गर्ने लगायतका काम हिमालय एयरलाइन्स आफैंले गर्नेछ । हप्तामा ३५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको सुविधा दिन सकिने महानिर्देशक पोखरेलले बताए ।

कोरोना भाइरसको संक्रमण रोक्न अन्तर्राष्ट्रिय उडान बन्द गरेको बेला सरकारले नेपाल एयरलाइन्स र हिमालयलाई चार्टर उडान अनुमति दिएको थियो । गत साता चार्टरसहित ४२ वटासम्म उडान गरेको भन्दै हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको लाइसेन्स दिइएको हो ।

तर भोलि सामान्य अवस्थामा फर्किँदा पनि हिमालय एयरलाइन्सले सातामा ३५ वटासम्म उडान गर्छ भन्ने निश्चित छैन । आफ्ना विमानको आफैं ह्यान्डलिङ गरेपछि ग्राउन्ड ह्यान्डलिङबापत तिर्नुपर्ने हिमालय एयरलाइन्सको खर्च जोगिनेछ भने भने नेपाल एयरलाइन्सको भने आय घट्नेछ ।

आर्थिक वर्ष २०७५र७६ मा ग्राउन्ड ह्यान्डलिङमार्फत निगमले ४ अर्ब ३८ करोड रुपैयाँ कमाएको थियो । बितेको आर्थिक वर्ष २०७६र७७मा कोभिड(१९को महामारीले चैतबाट नियमित उडान बन्द भएपछि ५ अर्ब १६ करोडको लक्ष्य भएपनि २ अर्ब ७८ करोड मात्रै आम्दानी गर्‍यो । यो वर्ष निगमले निगमले हिमालय एयरलाइन्सससहित २६ वटा विदेशी वायुसेवा कम्पनी, कार्गो र चार्टर उडानमा आउने विदेशी एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङ सेवा दिएर ४ अर्ब ६ करोड आम्दानी गर्ने लक्ष्य राखेको छ । निगमलाई एक वर्षमा ग्राउन्ड ह्यान्डलिङबाट डेढदेखि २ खर्ब खुद नाफा हुने गरेको छ । जसले उडानबाट भएको घाटापूर्ति गर्न सघाउने गरेको छ ।

तपाईंको बिचार