Monday, August 3, 2020

पराजयको जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्छ : केसी

प्रकाशित मिति: 2017/12/26

नुवाकोट । नेपाली काँग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले सबै तहका निर्वाचनमा पार्टीले भोगेको पराजय नेतृत्वको कमजोरीका कारण भएको बताउँदै विगतका कमजोरीको समीक्षा गरेर पार्टीलाई नयाँ शिरावाट अगाडि वढाउनुपर्ने वताएका छन् । पार्टी पराजयको जिम्मेवारी नेतृत्वले लिनुपर्ने वताउँदै आफू आफ्नो तहवाट जिम्मेवारी लिन तयार रहेको समेत केसीको भनाई थियो ।

विदुर नगरपालिका–३ को देविघाटमा स्थानीय पार्टी ईकाईले आयोजना गरेको निर्वाचन समिक्षा कार्यक्रममा नुवाकोट काँग्रेस सभापति केसीले कार्यकर्ता परिचालन, नीति तथा कार्यक्रम, भातृसंस्था परिचालन लगायत धेरै विषयमा कमजोरी रहँदा पार्टीले पराजय भोग्नुपरेको वताउँदै पराजयवाट शिक्षा लिँदै पार्टीको पुर्नसंरचना गर्नुपर्नेमा जोड दिए । पार्टीको पराजयमा केन्द्र देखि वडा तहसम्मका सबै नेतृत्व जिम्मेवार रहेपनि केन्द्रीय नेतृत्वमा देखिने सत्तालोलुप प्रबृत्ती र विधान विपरितका गतिबिधी पराजयको मुख्य कारक रहेको केसीले वताए ।

स्थानीय कार्यकर्ताले नचाहेपनि माओवादीसंग स्थानीय निर्वाचनमा कतिपय स्थानमा गरिएको तालमेल गम्भीर भूल सावित भएको वताउँदै नुवाकोट २ को प्रदेशसभा १ वाट उमेदवार समेत रहेका सभापति केसीले केही नेताको निर्णयलाई नै संस्थागत मान्नुपर्ने प्रवृत्तीको अन्त्यका लागि सबै ऐक्यवद्ध हुनुपर्नेमा समेत जोड दिए ।

कार्यक्रममा पूर्व महाधिबेशन प्रतिनिधी मोहनबहादुर खड्का, विदुर–३ का वडाध्यक्ष वद्रीप्रसाद रिमाल, काँग्रेस नेता रामप्रसाद रिमाल, रमेश अर्याल लगायतका नेता कार्यकर्ताले पार्टीको सशक्तताका लागि सबैतहको पुर्नसंरचना आवश्यक रहेको उल्लेख गर्दे नेताको प्रिय भन्दा जनप्रियलाई नेतृत्वमा स्थापित गर्ने संस्कारको विकास हुनुपर्नेमा जोड दिएका थिए ।

तपाईंको बिचार